८ बैशाख २०८१, शनिबार

गाउँबाट शहर झारियो भैँसी


पशुपालन फार्म

तनहुँ, २० चैत । शिक्षक पेशा छाडेर व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभएका व्यासनगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक व्यास–४ सिमलटारमा भैँसी झार्नुभएको छ । कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणासँगै पन्थले आफ्नो फर्ममा रहेका २२ मुर्रा भैसीलाई पृथ्वीराजमार्ग नजीक झार्नु भएको हो ।

सदरमुकाम दमौलीदेखि करिब ८ किलोमिटर दूरीमा गुदीमा पराल र चोकर ढुवानी गर्न असहज र दूध बिक्री गर्नसमेत कठिनाइ हुने भएकाले दमौली बजार नजिकै भैँसी झार्नुपरेको कृषक पन्थले बताउनुभयो । लकडाउनको शुरुको दिन दूध लिएर दमौलीतर्फ जाँदै गर्दा प्रहरीबाट विनाकारण आफूलाई यातना दिइएको दुखेसो पनि उहाँले पोख्नुभयो ।

लकडाउनका कारण परालको ट्रक पनि राजमार्गमा रोकिएको थियो । उहाँले भन्नुभयो, ‘राजमार्ग नजीकै अस्थायी रुपमा फर्म राखेपछि ढुवानी गर्न सजिलो भएको छ,लकडाउन खुलेपछि पुरानै स्थलमा लैजाने छु ।’

विपन्नलाई सेनिटाइजर, साबुन र मास्क
आँबुखैरेनी गाउँपालिका कार्यालयले गाउँपालिकाका विपन्न परिवारका दुई सय घरधुरीलाई दुई सय थान सेनिटाइजर, दुई सय साबुन र एक हजार थान मास्क वितरण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, कांगे्रस आँबुखैरेनी गाउँ कार्यसमिति र नेपाल तरुल दल आँबुखैरेनी एकाइका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठको संयुक्त सहयोगमा उक्त सामग्री वितरण गरिएको हो ।

यसअघि आँबुखैरेनी–३ स्थित कोट गाउँ र भाँगे गाउँमा सेनिटाइजर, साबुन र मास्क वितरण गरी नमूना खत्री टोल र प्रगति टोलमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि डिसइन्फेक्टेण्ट स्प्रे गरिएको थापाले बताउनुभयो ।

त्यसैगरी आँबुखैरेनी–३ निवासी अभियान श्रेष्ठले आँबुखैरेनीभित्रका विपन्न परिवारका २५० घरधुरीलाई सेनिटाइजर, डिटोल साबुन र मास्क वितरण गर्नुभएको छ । कोभिड–१९को संक्रमणबाट बच्न तथा बचाउनका लागि आँबुखैरेनी–३, आँबु गाउँका ५० घरधुरीलाई ५० थान सेनिटाइजर, ५० थान डेटोल साबुन र २०० थान मास्क वितरण गरिएको तरुल दल आँबुखैरेनी एकाइका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

१२३ शय्याको क्वारेन्टाइन
दश वटा पालिका र त्यसको मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ । बुधबारसम्म तनहुँमा दुई जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।

व्यासनगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा दुबइबाट घर आएका दुई व्यक्ति क्वारेन्टाइनमा बस्दै आएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लामा हालसम्म विभिन्न देशबाट ५६७ जना घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । विदेशबाट आएका व्यक्तिलाई सीधै होम क्वारेन्टाइनमा बस्न लगाइएका कारणले पनि सुरक्षित क्वारेन्टाइनमा बस्ने कम भएको उहाँले बताउनुभयो ।

जिल्लाका सोह्र स्थानमा १२३ शय्याको क्वारेन्टाइन र पाँच स्थानमा ४६ शय्या क्षमताको आइसोलेशन वार्ड स्थापना गरिएको छ । विभिन्न देशबाट घर फर्किएका व्यक्तिलाई संम्बन्धित स्थानीय तहमा स्थापना गरिएका क्वारेण्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !