१२ बैशाख २०८१, बुधबार

पक्की कुलो बन्दै, किसान रमाउँदै


पक्की कुलो

घोराही, ७ चैत । दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी हुनुहुन्छ । उमेरले ६५ वर्ष नाघिसक्नुभएका उहाँ ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आउनुभएको थियो । हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ । उहाँले हरेक पटक खेतबारीमा सिँचाइ गर्दा फरुवाले कुलो बनाउनैपर्छ ।

हातपाखुरा कमजोर हुँदै गएपछि फरुवाले कुलो सोहोर्नसमेत उहाँलाई धौधौ भएको थियो । तर अहिले उहाँको त्यो समस्या हटेको छ । उहाँलाई लाग्छ समय फेरिएको छ । गाउँमा खेतबारीमा सिँचाइ गर्ने कच्ची कुलो, पक्की बनिसक्यो । अचेल पक्की नाली बनेको देख्दा उहाँमा खुशीको सीमा बढेको छ । “गाउँगाउँमा सिँचाइका लागि पक्की कुलो बन्दैछ । यस्तो सुखको दिन आउलाजस्तो लागेको थिएन”, किसान चौधरी फिस्स हाँस्दै भन्नुभयो, “जुन गाउँ जाँदा पनि पक्की नाली बनेको देख्छु, देशमा साँच्चिकै विकास हुँदैछ भन्ने अनुभूत भएको छ ।” उहाँको आफैँ बनाएर सिँचाइ गर्नुपर्ने एक बिघा जमिनमा अहिले सिँचाइ पुगेको छ ।

दङ्गीशरण–५ कुमलगडीका सूर्यदास चौधरी ६१ वर्षका भए । १२ वर्षको उमेरदेखि नै उहाँको खेती किसानीमा दैनिक बितेको थियो । “वर्षा शुरु हुनेबित्तिकै फरुवा लिएर कुलो लाग्न जानुपथ्र्याे अब पक्की नाली बन्दैछ । कुलो लाग्ने समस्याबाट मुक्ति पाइने भयो”, उहाँले भन्नुभयो । दङ्गीशरण–४ मौलीका मित्रलाल रावल उमेरले ७५ वर्ष काट्नुभयो । गाउँपालिका नजिकै बनेको नाली हेर्दै हिँडिरहनुभएका उहाँले भन्नुभयो, “छोरानातिका दुःखका दिन गए”, साठी वर्ष अगाडिको दुःख सम्झँदै उहाँले भन्नुभयो, “हामी त फरुवा कुटो, कोदालो हातले चलाएर काम ग¥यौँ, फरुवा लिएर कुलो झार्न जान्थ्यौँ, खेत खन्थ्यौँ, अहिले सबै बाटा, कुलो नाली पक्की बन्दैछन् । सुखका दिन आउँदैछन् ।”

दङ्गीशरण वडा नं ५ मिरौलीमा कुलो निर्माणमा हेकुलीकी सीता चौधरी र रविता चौधरी काम गरिरेहको भेटिनुभयो । उहाँहरु दैनिक नौ घण्टा खेतबारीमा काम गर्नुहुन्छ । ठेकेदारले आठ घण्टा काम गर्ने भने पनि कुलो निर्माण छिट्टै सकिएला भनेर उहाँहरु नौ घण्टा काम गरेको बताउनुहुन्छ । पक्की कुलो बनाउने काम छिट्टै सकिएपछि वर्षा शुरु हँुदा कुलो लाग्नुपर्दैन । पानी चुहिएर कुलोको पानी खेर जाने समस्या पनि छैन ।
दङ्गीशरण गाउँपालिका वडा नं ३ स्थित हेकुलीगाउँमा सिँचाइ सुविधा पु¥याउनका लागि पक्की कुलो निर्माण जारी छ । प्रदेश सरकारको रु एक करोड ६५ लाख लागतमा पक्की कुलो निर्माण भइरहेको छ । तीन हजार ३०० मिटर लम्बाइको पक्की कुलो निर्माणपछि हेकुलीगाउँका करिब डेढ सय घरधुरी सिँचाइ सुविधा लिन सक्नेछन् ।

निर्माणाधीन सो कुलो ८० सेन्टिमिटर चौडाइ र ६० मिटर अग्लो रहेको निर्माण व्यवसायी ईश्वर पुनले जानकारी दिनुभयो । विसं २०७६ माघमा जलजला निर्माण सेवा घोराही दाङसँग २०७७ माघमा निर्माण सक्ने गरी सम्झौता गरे पनि यही असार मसान्तमा निर्माण सकिने उहाँले बताउनुभयो । सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीका अनुसार दङ्गीशरणमा विसं २०७४÷७५ मा पाँच स्थानमा पक्की कुलो निर्माण भएका छन् । विसं२०७५÷७६ मा १० गरी जम्मा १५ पक्की कुलो निर्माण सम्पन्न भइसकेको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाका सबै वडामा करिब दर्जन बढी पक्की कुलो बन्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !