, जमाउँदै छ बजार ‘खोले साग’ ले

जमाउँदै छ बजार ‘खोले साग’ ले

काशीराम शर्मा बाँके, २६ माघ । खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिन्छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन् ।

पछिल्लो समय नेपालगञ्जमा यही ‘खोले साग’ चर्चित छ । कर्णाली र दाङको ‘खोले साग’ले बजार पाएको छ । साग बिक्री वितरणले धेरैको रोजीरोटी चलाएको छ । “धेरैले रुचि मानेर किनेर लैजानुहुन्छ”, नेपालगञ्जको धम्बोझीचोक नजिकै साग बेच्दै आउनुभएकी सावित्री वलीले भन्नुभयो, “ग्राहकलाई पु¥याउनै सकिएको छैन ।”कर्णालीमा मात्रै नभई दाङबाट समेत आयात भइरहेको खोले सागको बिक्री राम्रो भइरहेको उहाँले बताउनुभयो ।

खोलामा खेर गइरहेको खोले सागप्रति स्थानीयवासीको अत्यधिक माग रहेको छ । बजारमा सागको माग बढ्न थालेपछि गाउँका किसानले खोलाबाट सङ्कलन गरेर बिक्री गर्दै आइरहेका छन् । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने सागको माग गर्मी मौसममा अझै धेरे हुने गर्छ । गर्मी मौसममा अन्य सागको उत्पादन कमै हुने भएकाले पनि खोले सागको माग बढ्दो छ । पूर्णरुपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग धेरै बताइएको छ ।

साग बिक्री गरेर सिजन अनुसार करीब रु २० हजारसम्म कमाइ हुने गरेको वलीले जानकारी दिनुभयो । “एकपटक उम्रिएको ठाउँबाट निकाल्दा पनि निरन्तर उम्रिरहने भएकाले आम्दानी पनि भइरहन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपालगञ्जमात्रै नभएर बुटवलसम्म पनि साग पठाउने गरेको बताउनुभयो ।

गाउँदेखि शहरसम्म सागको माग बढ्न थालेपछि खोलामा त्यसै खेर गइरहेको खोले साग टिपेर राम्रो आम्दानी भइरहेको साग बिक्री गर्न दाङबाट नेपालगञ्ज आइपुग्नुभएकी उमा केसीले बताउनुभयो । “खोलामा खेर गइरहेको सागको नेपालगञ्जमा माग बढेको छ”, उहाँले भन्नुभयो । वर्षमा खोले साग बेचेरै रु ३५ हजारसम्म कमाउने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मङ्सिरदेखि चैतसम्म खोलामा खोले साग उत्पादन हुन्छ । “विशेष गरेर फागुनदेखि चैतसम्म यसको माग अत्यधिक हुन्छ”, केसीले भन्नुभयो, “चैत–वैशाखमा त यतिधेरै माग बढ्छ कि पु¥याउनै सकिन्न ।” उहाँका अनुसार सङ्लो पानी बग्ने स्थानमा साग हुन्छ । पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा खोले साग आफैँ नष्ट भएर हराउँछ । त्यसैले यसमा कुनै रसायन प्रयोग हुँदैन । मल विषादी प्रयोग नगरिने हुँदा अग्र्यानिक पनि हुन्छ । साग खाँदा कब्जियत, कुपोषण र आँखाको समस्या भएकालाई प्रत्यक्ष फाइदा पुग्ने उपभोक्ताको विश्वास गर्दछन् ।