७ बैशाख २०८१, शुक्रबार

पाखो बारीमा कृषि


सुन्तला खेती

टेकराज पोखरेल, नवलपुर, ५ माघ । गैँडाकोट नगरपालिका–१८ को बसेनीमा पछिल्लो समय सुन्तला खेती शुरु गरिएको छ । वडा नं ११ का वडा सदस्य गुप्तप्रसाद रेग्मीले डाँडामा गएर खेती शुरु गरेपछि स्थानीयवासीसमेत सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।

चालु आव २०७६/७७ मा नगरपालिकाको पहलमा वडा नं १८ लाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरअन्तर्गत सुन्तला जोन घोषणा गरेपछि रेग्मीले त्यहाँ पुगेर कृषि कर्म शुरु गर्नुभएको हो । टीकारत्न टुल्की कृषि फार्म स्थापना गरेर उहाँले सुन्तला, कागती, लिची, निबुवा लगायतको खेती शुरु गरेपछि स्थानीयवासीले समेत साथ दिन थालेका हुन् ।

“म पहिलोपटक आउँदा यो गाउँमा सिँचाइका लागि पानीको सुविधा थिएन, स्थानीयवासीसमेत खेतीपाती गर्नभन्दा अन्य कर्ममा रमाउने गर्दथे”, उहाँले भन्नुभयो, “म आएर खेती गर्न थालेपछि गाउँले समूहमा बसेर सुन्तला खेती गर्न थालेका छन् ।” समथर ठाउँबाट पहाडमा गएर खेती गर्दा गाह्रो भए पनि त्यहाँका स्थानीयवासीले आफूबाट सिकेर काम गर्दा आनन्दको अनुभूति भएको रेग्मीले बताउनुभयो ।

उहाँले करीब तीन बिघा जग्गा किनेर बसेनीमा विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा लगाउनुभएको छ । उहाँको कृषि फार्ममा लोकल कुखुरासमेत पालन शुरु गरेको रेग्मीले बताउनुभयो । बसेनीमा प्रत्येक घरबाट वैदेशिक रोजगारमा गएका कारण उनीहरुका आश्रित परिवार गैँडाकोटको बजारमा झर्ने र गाउँको खेतबारी बाँझै रहने समस्या बढ्दै गएकाले आफूले त्यहाँ पुगेर कृषिको काम शुरु गरेको उहाँले बताउनुभयो । गाउँको आधाभन्दा बढी जग्गा बाँझै रहेको रेग्मीको भनाइ छ ।

निर्वाहमुखी कृषिलाई विस्थापित गर्दै व्यावसायिक खेतीतर्फ स्थानीयवासीको समेत ध्यान गएको उहाँले बताउनुभयो । त्यस ठाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोन नवलपुरले रु चार लाख १५ हजार तथा नगरपालिकाले रु एक लाख ५० र श्रमदान गरी रु १० लाख २४ हजारको लागतमा कृषिका लागि लिफ्टिङ सिँचाइ आयोजना निर्माण गरिदिएको छ । सो आयोजनाबाट ३५ घरधुरीको १२५ रोपनी जमीनमा सिँचाइ सुविधा उपलब्ध भएको रेग्मीले बताउनुभयो ।

जोन लागू भएपछि सो स्थानमा अन्य स्थानीयवासीले समेत एक हजारभन्दा बढी सुन्तलाका बिरुवा लगाएका छन् । बसेनी सुन्तला जात कृषि समूहमार्फत सुङ्गुरपालकले समेत सुन्तला खेती गरेका छन् । किसानले सामूहिक रुपमा सुन्तला, ज्यामिर, निबुवा र लप्सी खेती गरेको स्थानीय कृषक युगबहादुर सारु मगरले बताउनुभयो । उहाँहरुले १७ किसान मिलेर फूलबारी सुन्तला जात कृषि समूह गठन गरी सुन्तला जातको खेती गरेको मगरले बताउनुभयो ।

नगर प्रमुख छत्रराज पौडेलले रक्सी पारेर जीविका निर्वाह गर्ने स्थानीय मगर समुदायमा नयाँ सोच पलाएको बताउनुभयो । अबको पाँच वर्षमा नवलपुर कागतीमा आत्मनिर्भर हुनेगरी पहाडी क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो । “हावापानीका हिसाबले बसेनी गाउँ सुन्तलाजन्य उत्पादनका लागि उपयुक्त ठाउँ भएकाले सुन्तला जोनमा पारिएको हो”, पौडेलले भन्नुभयो, “बाहिरबाट आएका मान्छेले भन्दा पनि स्थानीयवासीले नगरेसम्म कार्यक्रम सफल हुँदैन, त्यसैले स्थानीयवासीलाई काम गर्न हौसला दिँदै आएका छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !