७ बैशाख २०८१, शुक्रबार

काभ्रेपलाञ्चोकमा कृषि उपजलाई प्राङ्गारिक बनाइने


Nepalpatra

काभ्रेपलाञ्चोक, २० वैशाख । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले कृषि उत्पादनलाई प्राङ्गारिकतर्फ लैजाने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्र, युवा कृषि मञ्च र समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीद्वारा संयुक्तरूपमा बिहीबार धुलिखेलमा आयोजित प्राङ्गारिक कृषि उत्पादन र बजारीकरण विषयक गोष्ठीमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले भन्नुभयो, “कृषि उपजमा विषादीलाई न्यूनीकरण गर्दै प्राङ्गारिक उत्पादनतर्फ लाग्नेछौँ ।” उहाँले नगरका कृषकसमक्ष चेतनामूलक कार्यक्रम अघि बढाइने बताउनुभयो ।

बेथानचोक गाउँपालिका अध्यक्ष पे्रमबहादुर तिमल्सिनाले क्रमैसँग क्षेत्र तोकेर कृषि उपजलाई प्राङ्गारिकतर्फ लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि उपजलाई प्राङ्गारिकतर्फ लैजान तीनै तहका सरकारबीच सहकार्य हुनुपर्छ, यसका लागि हामी तयार छौँ ।”

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले कृषिलाई प्राङ्गारिकतर्फ लैजाने विधि प्रक्रियाबारे पहिला कृषकलाई जानकारी गराउने कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो । “हामी प्राङ्गारिक कृषि उपज उत्पादन गर्न तयार छौँ, कृषकको लागतसहित नाफा हुने बजार व्यवस्थापनको जिम्मा लिनुपर्छ, यसप्रति हामी तयार छौँ”, उहाँले भन्नुभयो ।

धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले धुलिखेलमा कृषि उपज उत्पादनमा प्राङ्गारिकको अभ्यास भएको बताउँदै प्राङ्गारिक उत्पादनका लागि कम लागतमा उत्पादन गर्नसक्ने प्रविधि ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्राङ्गारिक उत्पादनमा जानुपूर्व स्थानीय तहमा हुनसक्ने सम्भावनाको अध्ययन गरी नीति बनाउनुपर्छ, यसपछि नगरपालिका प्राङ्गारिकतर्फ जान तयार हुन्छ ।” सो अवसरमा काभ्रेपलाञ्चोकस्थित स्थानीय तहका कृषि शाखाका प्रतिनिधिले प्राङ्गारिक नीति आएपछि त्यसतर्फ जाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङले कृषिमा प्राङ्गारिकतर्फ जाँदा नाफामूलक उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्राङ्गारिकको नारा मात्रै घोकेर हुँदैन, कृषकको लागत डुब्नु भएन, स्वस्थ उपज उत्पादन हुनुपर्छ ।”

प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले जिल्लाको भौगोलिकताको विश्लेषण गरी प्राङ्गारिकतर्फ लाग्नुपर्ने सुझाव दिँदै तीनै तहको सरकारको सहयोगमा शीतभण्डार स्थापना गरी बेमौसममा बिक्री गर्ने प्रणालीमा जानुपर्ने बताउनुभयो ।

केन्द्रप्रमुख डा हरिबहादुर केसीले हालको प्राङ्गारिक उपजको अवस्था विश्लेषण गर्दै प्राङ्गारिकतर्फ जान स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । मञ्चका अध्यक्ष जयराम सिग्देलले जिल्लामा उत्पादित स्वस्थ कृषि उपजलाई बजारीकरण गर्न समन्वय गरिने बताउनुभयो ।

मन्दिर पुनःनिर्माण, गजुर प्रतिस्थापना

भूकम्पले क्षति पु¥याएको पाँचखाल नगरपालिका–५ साठीघरमा अवस्थित पलाञ्चोक भगवती मन्दिरको पुनःनिर्माण सकिएको छ । हालै मन्दिरको पुनःनिमाण सकिएपछि बिहीबार शुभसाइतमा मन्दिरको गजुर प्रतिस्थापना गरिएको हो ।

पुरातत्व विभागले रु दुई करोड ५२ लाखमा मन्दिर पुनःनिर्माण गरेको भगवती विकास सेवा समितिका सदस्य रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण शुरु गरिएको एक वर्षमा मन्दिरको पुनःनिर्माणको काम सकिएको हो । पगोडा शैलीमा अवस्थित मन्दिरलाई भूकम्पले क्षति पु¥याएपछि सोही शैलीमा नै पुनःनिर्माण गरिएको हो । श्रेष्ठले भन्नुभयो, “मन्दिर भत्काउँदा भूकम्पले क्षति पुगको सामग्री मात्रै बदलिएको छ, टुटफुट नभएका सामग्री पुनः प्रयोग गरिएको छ ।”

पुनःनिर्माण गर्न गतसाल मन्दिर भत्काउँदा जगमा ४७५ वर्ष पहिलेको सिक्का भेटिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक दस्तावेजमा तत्कालीन राजा मानदेवकी रानी विजेश्वरीले उक्त भगवती मन्दिर स्थापित गरेको र त्यसयता पटक–पटक मन्दिरको पुनःनिर्माण भएको उल्लेख गरिएको छ ।

गजुर प्रतिस्थापना गर्न मन्दिर परिसरमा आयोजित विशेष क्षमापूजामा प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, पाँचखाल नपाप्रमुख महेश खरेल, उद्योग वाणिज्य महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतको उपस्थिति रहेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !