रुखकटहर खेती गर्ने तरिका

रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । यस्को गुदी कोया सुगर र भिटामीनहरूको मूख्य श्रोत हो । यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यस्को फलमा भिटामीन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ । यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्व रहेकोले पनि उपयोगिता बढेको छ । यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न संकटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध हुने छ ।

विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्वपूर्ण फल हो । यो नेपाल बाहेक भारत, वर्मा, सिलोन, दक्षिणी चीन,मलाया, श्रीलंका, केनया, युगान्डा, मलेशिया, फिलिपिन्स, थाइलैण्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, बेस्ट इन्डीज आदि देशहरूमा खेती गर्ने गरिन्छ ।

रुखकटहर कस्तो हावापानीमा हुने फलफूल बाली हो ?

रुखकटहरको लागि गरम र ओसिलो हावापानी उत्तम मानिन्छ। मध्य-पहाडी भेगका नदी किनारामा रहेका गरम तथा ओसिला ठाउँहरुमा १४०० मिटरसम्मको उचाईमा पनि यसको खेती राम्रो भएको पाईन्छ। लामो समयसम्मतुषारो पर्ने र बढी चिसो हुने ठाउँहरुमा यसको खेती राम्रो हुँदैन।

रुखकटहरको वृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ?

रुखकटहरको वृद्धि र विकासका लागि २५ देखि ३० डिग्री सेल्सियस उत्तम मानिएतापनि ४५ डिग्री सेल्सियस तापक्रम हुने ठाउँहरुमा पनि यसको खेती भइरहेको छ।

रुखकटहरको खेती गर्न वार्षिक वर्षा कतिसम्म हुनु आवश्यक छ ?

उष्ण प्रदेशीय हावापानी भएको सबै क्षेत्रमा यसको खेती गर्न सकिन्छ तापनि सालाखाला १०००-१५०० मि.मि. वार्षिक वर्षा हुने ठाउँहरुरुखकटहर खेतीको लागि राम्रो मानिन्छ।

रुखकटहर खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?

रुखकटहर सबै प्रकारको माटोमा खेती गर्न सकिन्छ तापनि गहिराई बढी भएको र पानी नजम्ने जमीन राम्रो हुन्छ। फल लाग्ने समयमा जमीनमा बढी पानी जमेमा फल एवं पातहरु झर्न शुरु गर्दछन्।

माटोको अम्लियपना र क्षारियपना कस्तो हुनु पर्दछ ?

साधारणतया माटोको पि.एच. मान ५.० देखि ६.५ राम्रो मानिन्छ।बढी फलामयुक्त अम्लिय माटोमा रुखकटहर राम्रो फस्टाएको पाईन्छ। क्षारिय माटो यसको लागि लाभदायक हुँदैन।

रुखकटहरको बिरुवा कुन तरिकाले लगाउन उपयुक्त हुन्छ ?

रुखकटहरको बिरुवा समथर खासगरी तराई क्षेत्रमा लगाइने हुँदा वर्गाकार वा आयताकार तरिकाले बगैंचा लगाउन सकिन्छ तर हालसम्म रुखकटहरको मात्र बगैंचा यसरी लगाईएको बिरलै पाईन्छ। विशेषतः आँप, लिची बगैंचाको छेउछाउमावा बारीको कान्लामा बिरुवा लगाउनेगरिन्छ।

रुखकटहरका बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?

रुखकटहरका बोटहरु निकै फैलिने र उचाईसम्म जाने हुँदा १५ देखि २५ मिटर सम्मको दूरी कायम गर्नु पर्ने हुन्छ।

रुखकटहरको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न किन जरुरी छ ?

रुखकटहरका बोटहरुको आयु निकै लामो हुने हुँदा उचित दूरी कायम गर्न रेखाङ्कन गर्न जरुरी हुन्छ जसले गर्दा पछि गएर यान्त्रिकीकरणको माध्यमबाट बगैंचाको स्याहार सम्भार गर्न सकियोस्।

रुखकटहरको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?

यसको बिरुवा लगाउनु अगाडी १ घनमिटरको खाड्ल खन्नु पर्दछ किनकी रुखकटहरका बिरुवा बीजु हुने र गहिरो गरी रोप्नु पर्ने हुन्छ। यसको मूल जरा काटियो भने बिरुवा सर्न गाह्रो हुन्छ किनकी सहायक जराहरु कम हुन्छन्।

रुखकटहरको बिरुवा रोप्दा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको किन आवश्यक पर्दछ ?

बिरुवा रोप्न खाड्ल खन्ने बेलामा र बिरुवा रोप्ने बेलामा यसको जरुरी हुन्छ अन्यथा बिरुवाले उचित स्थान पाउँदैन र कालान्तरमा बगैंचा राम्रो देखिँदैन।

रुखकटहरको बगैंचामा सिंचाई गर्न जरुरी छ ?

यसलाई सुख्खा हावापानीबाट बचाउन रोपेको २-३ वर्षसम्म हिउँद तथा गर्मी महिनामा सिंचाई गर्न आवश्यक हुन्छ। बोट बिरुवा ठूला भइसकेपछि जरा गहिराईसम्म जाने हुनाले सिंचाईको जरुरत पर्दैन।

रुखकटहरमा मलखादको व्यवस्था कसरी गर्न पर्दछ ?

साधारणतया रुखकटहर फल्न ५-१० वर्षसम्म लाग्दछ। फल्न शुरु नगरेको बिरुवालाई २५-३० के.जी. कम्पोष्ट मल र १०० ग्राम नाईट्रोजन प्रति वर्ष दिनु पर्दछ। फल दिन शुरु गरेका बिरुवालाई भने ३०-३५ के.जी. कम्पोष्ट मल, १के.जी. नाईट्रोजन,०.५ के.जी. फोस्फोरस र १ के.जी. पोटासको आवश्यकता पर्दछ।

नेपालमा रुखकटहरका प्रचलित जातहरु कुन कुन हुन् ?

रुखकटहरका जातहरुमा रुद्राक्षी, सिंगापुरे/श्रीलंकन, ख्वाजा, अलाहाबाद, रोहिनी,समैया, आदि हुन्।

नेपालमा खेती भैरहेका रुखकटहरका जातहरुको बारेमा जानकारी गराई दिनु हुन्थ्यो कि ?

रुखकटहरको रोहिनी जात जेष्ठ-आषाढमा पाक्दछ। यसका फल बाटुला र साना खालका हुन्छन्। समैया भन्ने जात आषाढ-श्रावणमा पाक्दछन्। यसका फल अण्डाकारका लाम्चा हुन्छन्। भदैया भन्ने जात भाद्र-आश्विनमा पाक्दछन् र यसका फलहरु ज्यादै ठूला, लाम्चा हुन्छन् जसले गर्दा बजार भाउ पनि राम्रो हुँदैन।

प्रशोधनका लागि पनि कुनै जात छन् ?

रुखकटहरका प्रशोधनयोग्य जात छैनन् र हालसम्म प्रशोधन गरिएका उत्पादनहरु बजारमा भेटिएको पनि छैन।

रुखकटहरका बिरुवा प्रसारणको लागि कुन विधि अपनाइन्छ ?

यसको बिरुवा धेरै जस्तो बीउबाटै उत्पादन गरिन्छ। यसको बीउलाई पानीमा पखाली छायाँदार ठाउँमा २-३ दिन ओभानो बनाएर रोप्दा बीउ बढी उम्रन्छन्। बीउ धेरै दिन भण्डारण गरेर रोप्दा उमारशक्ति ह्रास हुन्छ। त्यसैले यसको बीउ १०-१५ दिनभित्र रोपी हाल्नु पर्दछ। यसमा गुटी गर्न सकिन्छ तर ज्यादै कम सफल हुने हुँदा कलमी विधि अपनाएको पाईँदैन।

रुखकटहरको बगैंचामा अन्तरबाली लगाउन सकिन्छ ?

यसका बोटहरुले ५-१० वर्षदेखिफल दिन शुरु गरेतापनि १५-२० वर्षपछि मात्र आर्थिक रुपमा फाईदा लिन सकिन्छ। अतः यस अवधिमा अतिरिक्त बिरुवा (Filler Plants) को रुपमा मेवा,अम्बा, भूईंकटहर जस्ता फलफूल,अदुवा,बेसार जस्ता मसलाबालीर काउली, बन्दा, मूला,केराउ जस्ता तरकारी बाली तथा चना, मुसुरो, रहर जस्ता दलहन बाली लगाई अतिरिक्त आम्दानी लिन सकिन्छ।

रुखकटहरको फललाई कुन कुन रुपमा प्रयोग गर्न सकिन्छ ?

यसको फल पूर्ण रुपमा विकास हुन ४-५ महिना लाग्दछ। फल ३-४ महिना भएपछि बाक्ला र आकृति बिग्रिएका फलहरु टिपी तरकारीको लागि प्रयोग गरिन्छ। फललाई औंलाले दबाउँदा नरम र काँडा केही फराकिला र फलमा वासना विकास भएपछि फल परिपक्व भएको बुझ्नु पर्दछ।

रुखकटहरलाई छिटो पकाउन परेमा कस्तो उपाय अवलम्बन गर्नु पर्ला ?

रुखकटहर फललाई छिटो पकाउन परिपक्व भएका फलहरुलाई टिपेर नुनपानी छर्केर, भुस परालमा गुम्साएर वा यसमा घाउ चोट लगाएर पनि पकाउन सकिन्छ।

यसको फललाई कसरी भण्डारण गरिन्छ ?

फललाई भण्डारण गर्न र टाढा बजारको लागि ढुवानी गर्न फल परिपक्व अवस्थामा पुग्ने बित्तिकै टिप्नु पर्दछ। पाकेको फल ढुवानी गर्न र भण्डारण गर्न मिल्दैन। फललाई ११-१२ डिग्री सेल्सियस तापक्रममा र ८५ देखि ९० प्रतिशत सापेक्षिक आर्द्रतामा १-१.५ महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ।

रुखकटहरको प्रति बोट कति उत्पादन हुन्छ ?

यसको उत्पादन बोटको उमेर, लगाएको जात तथा बगैंचाको व्यवस्थापनमा निर्भर गर्दछ।साधारणतया प्रति बोट २००-२५० फलहरु अर्थात् १०००-२००० के.जी.  उत्पादन हुन्छ।

रुखकटहरमा गवारो कीराले कसरी नोक्सानी पुर्या उँछ र यसको रोकथाम विधि के छ?

गवारोको लार्भाले बोट तथा कलिला डाँठ भित्र पसी काठ खाने गर्दछ। लार्भाले खाएको ठाउँमा प्वाल देखिन्छन् र त्यहाँ विष्टा तथा काठको धूलो पाईन्छ। यसको आक्रमणबाट बच्न कीराको संक्रमित भाग काटेर जलाई दिने, कपासलाई ईथर, मट्टितेल वा पेट्रोलमा भिजाएर प्वालमा राखी माटो, गोबर वा मैनले टाली दिनु पर्दछ।

रुखकटहरमा मिलीबग कीराले कुन मौसममा र कसरी नोक्सानी पुर्याकउँदछ?

पौष-माघ महिनामा फुलबाट बच्चाहरु निस्किएर रुखमा चढ्ने र कलिला हाँगाहरु, फूल र फलको भेट्नोमा टास्सिएर रस चुस्दछन्।यिनीहरुले एक प्रकारकोगुलियो तरल पदार्थ निकाल्ने हुँदा कालो ध्वाँसे रोगको प्रकोप बढ्दछ। यी कीराहरुको नियन्त्रणका लागि फेद वरिपरिको माटो खनजोत गरी घाममा सुकाउनु पर्दछ। बोटमाथि चढ्न नदिन रोजिन र काष्टरको तेल मिसाएर बोटको फेदमा पोती दिनु पर्दछ।

रुखकटहरमा कस्ता कस्ता रोगहरु लाग्दछन् ?

यसमा पनि विभिन्न किसिममा रोगहरु जस्तै गुलाबी/पिंक रोग, पातको थोप्ले रोग, फल कुहिने, डाँठ कुहिने रोगहरु लाग्दछन्। यिनीहरु मध्ये गुलाबी र फल कुहिने रोगले बढी नोक्सानी गर्दछ।

रुखकटहरको गुलाबी/पिंक रोग कसरी पहिचान गर्न सकिन्छ ?

यस रोगले आक्रमण गरेका हाँगाका बोक्राहरु सुकेको जस्ता देखिन्छन्। उक्त ठाउँमा गुलाबी रङ्गको धुलो देखा पर्दछ। हाँगाको बोक्रा र काठ नष्ट भएको कारण हाँगाबाट खाद्य पदार्थको प्रवाह रोकिन गई पातहरु झर्दछन् र अन्त्यमा पुरै बोट मर्न सक्तछ।

गुलाबी/पिंक रोगको रोकथाम कसरी गर्नु पर्दछ ?

रोगी हाँगाहरुलाई काटेर जलाई दिनु पर्दछ। यसरी काटिएको ठाउँमा बोर्डेक्स पेन्ट लगाउनु पर्दछ र पूरै बोटमा बोर्डेक्स मिक्स्चर १%को घोल बनाई छर्नु पर्दछ।

रुखकटहरको फल कुहिने रोगको पहिचान कसरी गर्न सकिन्छ ?

यो रोग प्रायः सबै गरम र ओसिलो हावापानी भएका ठाउँहरुमा लागेको पाईन्छ। यस रोगको ढुसीले कलिला फलहरुमा आक्रमण गर्दछ। रोगले ग्रसित फलहरु काला हुन्छन् र बोटबाट झर्दछन्।

फल कुहिने रोगको रोकथाम कसरी गर्नुपर्दछ ?

बोटमा फल लागिसकेपछि कलिला फलहरुलाई डाईथेन एम-४५ वा वेभिष्टिन २-३ ग्राम प्रति लिटर पानीमा मिसाई १०-१५ दिनको फरकमा २-३ पटक स्प्रे गर्‍यो भने रोग लाग्नबाट बचाउन सकिन्छ।