५ असार २०८२, बिहीबार

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी


माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

भरतपुर (चितवन)। चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले माछापालन व्यवसायबाट वार्षिक करिब डेढ करोड रुपैयाँ आम्दानी गर्दै उदाहरणीय कृषक बनेका छन्। १३ वर्षअघि सामान्य रूपमा सुरु गरेको यो व्यवसायलाई उनले लगनशीलता र आधुनिक प्रविधिको प्रयोगबाट सफल बनाएका हुन्।

सन् २०११ मा पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गरेका अर्यालले प्रारम्भिक कठिनाइहरूको सामना गर्दै व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गरे। सन् २०१६ मा चार बिघा जमिन थपेर उनले ६ प्रजातिका माछा पाल्न थाले। हाल चार बिघा जमिनको जलाशयमा माछा पालेर वार्षिक १ करोड ५० लाख रुपैयाँको माछा बिक्री गर्छन्। यसबाट दाना र अन्य खर्च कटाएर वार्षिक ७० लाख रुपैयाँभन्दा बढी नाफा हुने अर्याल बताउँछन्। उनको फार्ममा वार्षिक २०० टनभन्दा बढी माछा उत्पादन हुन्छ। अहिले पनि १० टन माछा बजार पठाउने तयारीमा रहेको उनले बताए।

अर्यालले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायतका प्रमुख सहरहरूमा बिक्रीका लागि पठाइन्छ। माछापालन व्यवसायले उनको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। यस आम्दानीबाट उनले थप जमिन किनेका छन्, घर बनाएका छन् र गाडी किन्ने योजनामा छन्।

माछापालन व्यवसायबाटै अर्यालले आफ्ना तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाइरहेका छन्। उनले आफ्नो फार्ममा ६ जनालाई रोजगारी पनि दिएका छन्। आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने उनको योजना छ। पोल्ट्री क्षेत्रमा हात हालेर राम्रो आम्दानी गर्न नसके पनि हाल कागती खेतीमा पनि लगानी गरेको र त्यसलाई एग्रो टुरिजममा जोड्ने योजना रहेको उनले सुनाए।

हरि अर्याल र उनकी श्रीमती दुवै माछापालनमा सक्रियतापूर्वक खटिएका छन्। उनले माछापालनमा रुचि राख्ने अन्य किसानहरूलाई पनि प्रशिक्षण र सल्लाह प्रदान गर्दै आएका छन्।

४५ वर्षीय अर्यालको माछापालन यात्रा सहज भने थिएन। सन् २००५ मा पैसा कमाउन मलेसिया पुगेका उनी २४ महिनापछि नेपालमै केही गर्ने सोचका साथ स्वदेश फर्किए। तर, सोचेजस्तो नभएपछि सन् २००८ मा पुनः दुबई गए। दुई वर्ष दुबई बसेर फर्किएपछि परम्परागत खेतीपातीमै लागेका अर्यालले पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देखे। यसबाट फाइदा हुने देखेर उनले यो व्यवसाय सुरु गरे।

माछापालनको सुरुवाती दिनमा उनले धेरै कठिनाइ भोगेको अनुभव छ। “एक कठ्ठामा कति माछा राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो,” उनले भने, “सुरुमा व्यापारीले ठगे। दुई-तीन वर्ष घाटा नै भयो।” पछि माछापालनसम्बन्धी ज्ञान हासिल गर्दै गएपछि सहज भएको उनको भनाइ छ। सुरुवाती दिनमा बंगलादेशबाट माछाका भुरा ल्याउनुपर्ने बाध्यता रहेकोमा अहिले चितवनमै सरकारीस्तरबाट भुरा उत्पादन हुँदा सहज भएको उनी बताउँछन्। अर्याल अहिले धेरै किसानका लागि प्रेरणाको स्रोत बनेका छन्।

अर्यालले माछापोखरीमा करिब २ करोड रुपैयाँ लगानी गरेका छन्। सात वटा पोखरीमा माछा छन् र सुरुमा पोखरी खन्न मात्रै १ करोड रुपैयाँ खर्च लागेको थियो। जग्गा भाडामा लिएर माछापालन गर्दै आएका अर्यालको २८ कठ्ठा जमिन आफ्नै हो। हाल चितवनमा १५०० भन्दा बढी किसान माछापालनमा लागेका छन्। नेपालमा माछापालनको राम्रो सम्भावना रहेको उनको भनाइ छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !