७ बैशाख २०८१, शुक्रबार

‘भैँसी सुत्केरी भत्ता’ले काभ्रेको पनौतीमा दूध उत्पादन दोब्बर


भैँसी सुत्केरी भत्ता

काभ्रेपलाञ्चोक । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजारको दरले सुत्केरी भत्ता दिँदै आएको छ ।

पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैंसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । दुग्धजन्य खाद्यवस्तुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि पशुपालक घरपरिवारले पालेको भैँसी पहिलो बेतको सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको नगरपालिकाले जनाएको छ ।

वर्षौंदेखि गाई पाल्दै आउनुभएको पनौती नगरपालिका–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थपे । नगरपालिकाले ल्याएको अनुदानपछि भैँसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएका छन् । “गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बिमा र सुत्केरी प्रोत्सहानले अहिले अर्को भैँसी थप्ने सोचाइमा छु”, उनले भने ।

वर्षौंदखि भैँसीपालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसी पाल्न छाडेको बताउने पनौती नपा–१२ का यज्ञ खत्रीलाई नगरपालिकाले भैँसीपालनमा ल्याएको अनुदान, बिमा र सुत्केरी प्रोत्साहनले पुनःव्यावसायिक भैँसीपालनमा आकर्षित गरेको छ । उनले भने, “विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छाडेको थिए, अहिले पुनःभैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन् ।”

‘भैँसी सुत्केरी भत्ता’ अभियानबाट यहाँको किसानलाई आत्मबल बढेको छ । “भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थो, अब त्यो समस्या हटेको छ, भैँसीको बिमा पनि हुने अनुदान रकम पनि पाइने हुनाले हामी किसानलाई ठूलो राहत मिलेको छ”, पनौती–१२ कै भावना थापाले भने, “अब थप दुई वटा भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु ।”

पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ वटा भैँसी पालेका छन् । उनले भने, “नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपिएको छ ।” नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ बाटै ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । अभियान सञ्चालन भएपछि अहिले पनौतीमा दूधको उत्पादन दोब्बर भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको तथ्याङ्कअनुसार नगर क्षेत्रमा चार हजार ७४७ भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब ५०० भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब रु छ करोड भैँसी खरिदमा रकम बाहिर जाने गरेको थियो । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर नगरभित्रै र २५ हजार काठमाडौँ उपत्यकामा खपत हुने गरेको थियो । नगरपालिकाले सो अभियान सुरु गरेपछि भैँसीको सङ्ख्यामा अहिले दोब्बरले बढी भएको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखिएको छ । बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो । नगरपालिकाले अहिले पनि खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगर कृषि तथा पशुपक्षी शाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैँसीलाई रु पाँच लाख ७५ हजार खर्च भएको छ । शाखाका प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६/०७७ मा ४४४ भैँसीलाई रु १२ लाख र २०७७/०७८ मा ६४१ भैँसीलाई रु १७ लाख ५० हजार खर्च भएको छ ।

चालू आर्थिक वर्षको हालसम्म करिब ९०० भैँसीलाई सुत्केरी भत्ता वितरण गरिएको छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु ४० लाख बजेट लाग्ने अनुमान गरिएको छ । अहिले पनौतीमा सात हजार ८५८ भैँसी रहेको नगरपालिकाले जनाएको छ । खासगरी मुर्रा जातका भैँसी यहाँ पालिन्छ ।

हाल दूधको उत्पादन दैनिक ७० हजार लिटर हाराहारीमा रहेको बताइएको छ । तीमध्ये ५० हजार लिटर काठमाडौँमा बिक्रीका लागि पठाइन्छ । अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्या झण्डै दोब्बर तथा दूध उत्पादन पनि दोब्बर भएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । उनले भने, “हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तरसमेत उकास्सिएको छ ।”

नगरपालिकाले हालसम्म ९५६ वटा पाडी वितरण गरेको छ । तीमध्ये आव २०७५/०७६ मा ३०० पाडी वितरण गरिएको थियो । वितरण गरिएको पाडीमध्ये अहिले १३६ वटा गर्भवती रहेको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !