२९ भाद्र २०८१, शनिबार

बाँकेको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप


फौजी किरा

राँझा । बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।

मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् ।

किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा-६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसायिकरूपमा तरकारी खेती पनि गर्ने गरिएको छ ।

तीन वर्षअघि अमेरिकाबाट अफ्रिका–भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो । फौजी किरा अहिले यतै बसेको छ । फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनका अनुसार दिउँसोमा लुकेर बस्ने फौजी किराले रातिमा आक्रमण गर्छ । यहाँको वातावरण उसका लागि अनुकूल छ, बेलैमा औषधि हालेमा फौजी किराको असर हुँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !