म्याग्दीमा चिउरी, पैयूँ र दुदिलो नासिँदै जाँदा मौरीलाई चरन क्षेत्रको अभाव Nepalpatra म्याग्दीमा चिउरी, पैयूँ र दुदिलो नासिँदै जाँदा मौरीलाई चरन क्षेत्रको अभाव
११ मंसिर २०७८, शनिबार

म्याग्दीमा चिउरी, पैयूँ र दुदिलो नासिँदै जाँदा मौरीलाई चरन क्षेत्रको अभाव


चिउरी

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैयूँ, दुदिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको छ । चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकले बताएका छन् ।

विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकरूपमा वर्षा भएको र बाढी, पहिरो, भूक्षयले क्षति पुर्याउनाका साथै कुकाठका नाममा सामुदायिक वनले चिउरी, पैयूँ र दुदिलाका बोट काट्ने क्रम बढेपछि पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनीहरूको भनाइ छ ।

जिल्लाका बेनी नगरपालिकालगायत मङ्गला, धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरका गाउँमा व्यावसायिकरूपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन् ।

मालिका–२ का मौरीपालक कृषक टेकनाथ जैसीले तोरी, वुकी, पैयूँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताउनुभयो । जैसीले विगतका वर्षभन्दा यस वर्ष अत्यधिक वर्षा भएको र फूल फुल्ने समयमा बोट ढालिएकाले विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको जानकारी दिए ।

“मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो”, जैसीले भने ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधक जगत् बानियाँले अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताए । मौरीको गोलाको सङ्ख्या अत्यधिक बढिरहेको छ ।

कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँले बताए ।

कृषि ज्ञान केन्द्रले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ ।

जिल्लामा मौरीपालक कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । जिल्लाका छ स्थानीय तहका २०० भन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !