७ बैशाख २०८१, शुक्रबार

सिन्कौली खेतीमा खोटाङका किसान आकर्षित


सिन्कौली खेती

खोटाङ । गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ खोटाङका किसान आकर्षित भएका छन् । व्यावसायिक हिसाबले यसको उत्पादन नभइरहेको जिल्लामा पछिल्लो समय व्यापारीले खोजीखोजी खरीद गर्न थालेपछि किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका छन् ।

सिन्कौली अर्थात् तेजपात (दालचिनी) का नामले प्रख्यात मसलाको ठूलो रुख हुने गर्दछ । यसको पात, बोक्रा र जरासमेत मसलाको रुपमा प्रयोग गरिँदै आएको छ । यसरी उत्पादन हुने सिन्कौलीको विभिन्न भाग राम्रो मूल्यमा बिक्री हुने भएपछि स्थानीय किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।
अब प्रविधिको परिवर्तन आएसँगै कमजोर आर्थिकस्तर रहेका किसानले नयाँ विकल्प खोज्न थालेको जिल्ला वन महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । जिल्लाका किसानले हाल डिभिजन वन कार्यालय खोटाङ, सामुदायिक वन उपभोक्ता महासङ्घ र विभिन्न कृषि फर्मसँगको सल्लाहामा सिन्कौलीको बिरुवा किनेर वा निःशुल्क प्राप्त गरेर खाली जमीनमा रोप्न शुरु गरेका छन् ।

नजिकको होलसेल बजारमा सिन्कौलीको पात प्रतिकिलो रु ६० र बोक्रा प्रतिकिलो रु १५० का दरले बिक्री हुने गरेको छ । छिमेकी जिल्ला उदयपुरको बेल्टार, गाईघाट, कटारीलगायतका बजारमा सिन्कौली सङ्कलन गरिन्छ ।

थोरै लगानीमा धेरै आयआर्जन हुने भएकाले यहाँका किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासङ्घका अध्यक्ष राईले बताउनुभयो । “सदाबहार हरियाली रहने सिन्कौलीखेती वातावरणीय हिसाबले समेत उत्तिकै फाइदाजनक छ”, उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा यसको राम्रो सम्भावना पनि छ । बजार पनि राम्रो छ ।”

यसको व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम अझै प्रभावकारी बनाएर ल्याउनुपर्ने भन्दै किसानले सिन्कौली खेतीबाट निकै राम्रो आम्दानी गर्न सक्ने जनाइएको छ । सामुदायिक वन क्षेत्र तथा व्यक्तिका बाँझो जमीनमा सिन्कौली खेती लगाएर वैकल्पिक आयआर्जन गर्न सकिने महासङ्घका अध्यक्ष राईले बताउनुभयो ।

सिन्कौली हाल चिया, पुलाउ, मासुको परिकार लगायतलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिन्छ । बजारमा पाइने अधिकांश मसलाको आइटममा दालचिनीको नाममा यसको व्यापार व्यापक छ ।

सिन्कौलीको उपयोगिताका बारेमा गाउँघरमा कम जानकारी भएका कारण हालसम्म त्यसको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको छ । अलि बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् ।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधिजन्य तेल समेत उत्पादन हुने गर्दछ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ति बढाउन, रोकिएको पिसाब खुलाउनदेखि मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
खोटाङमा ९५ प्रतिशत रोपाइँ

बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङ जिल्लामा हालसम्म ९५ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन १५ नबित्दै ९५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको हो ।

बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ”, उहाँले भन्नुभयो,“जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धानखेती लगाउने गरिएको छ ।”

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

जिल्लाको हौँचुर, खार्पा, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछिता पोखरी, सिम्पानी, ईन्द्रेणी पोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावा कटहरे, खोटाङ बजारलगायतका ठाउँमा सबैभन्दा बढी धानखेती हुने गरेको छ । सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, केपिलासगढी, एँेसेलुखर्क, साकेला, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा अहिले धमाधम धान रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उक्त नगर तथा गाउँपालिकामा रोपाइँको काम अन्तिम चरणमा पुगेको किसानले बताएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा भने रोपाइँ ढिलो शुरु भएको छ ।

उक्त दुई गाउँपालिका बेँसी क्षेत्रमा पर्ने भएकाले गत असार १५ देखि मात्रै धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष समयमा पानी परेकाले शत–प्रतिशत रोपाइँ हुने र उत्पादनसमेत बढ्ने अनुमान गरिएको निमित्त प्रमुख राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा उन्नत् जात अन्तर्गत मकवानपुर एक, खुमल प्रजाति, राधा तथा स्थानीय प्रजातिका बास्मती, चम्पासरी, पात्लेमार्सी, अटेमार्सी लगायतका धानखेती गरिन्छ ।

खेतीपाती बाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने यस जिल्लामा गतवर्ष लामो समयसम्म खडेरी जाँदा ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रको अनुमान छ । दैनिक छाक टार्न एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरी र फौजी कीराको प्रकोपले सखाप पारेपछि जिल्लामा भोकमरी भएको थियो ।

खडेरीले सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दालाई समस्या पारेको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा खडेरीका कारण खाद्यान्न सङ्कट भएपछि नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर नगरवासीलाई वितरण गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !