७ बैशाख २०८१, शुक्रबार

धान रोप्न प्रविधिको प्रयोग बढ्यो


धान रोप्न प्रविधि

चितवन । जिल्लामा रहेका किसानले धान रोप्नका लागि प्रविधिको प्रयोग गर्न थालेका छन् । व्यावसायिक रुपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् ।

पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर धान रोप्दै हुनुहुन्छ । उहाँले सात विगाहा क्षेत्रफलमा धान रोपाई गर्दै हुनुहुन्छ । रत्ननगर नगरपालिका—३ मा रहेको जग्गामा उहाँले धान रोपाई गर्न लाग्नुभएको हो । प्रविधिको प्रयोगले धान रोप्दा कम लागतमा काम गर्न सकिने भएपछि यसको प्रयोग गरेको उहाँले बताउनुभयो ।

धान रोप्नका लागि श्रमिक आवश्यक भएको समयमा नपाइने भएकाले प्रविधिको प्रयोग गरेर धान रोप्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एक दिनमा पाँच विगाह क्षेत्रफलसम्म धान रोप्न सकिने र श्रमिकको अभाव भयो भन्नु नपर्ने भएकाले यो प्रविधिबाट म सन्तुष्ट छु ।”

बीउ राख्ने समयमा ट्रेमा बीउ राखेर रोपिने भएकाले धानको बीउ समेत खेर नजाने उहाँले बताउनुभयो । अहिले सात विगाहा क्षेत्रफलमा धान रोप्न लाग्नु भएका ढकाल आगामी वर्ष २५ विगाहा क्षेत्रफलमा धान रोप्ने योजनामा हुनुहुन्छ । बछौली साना किसान सहकारीका अध्यक्ष नारायण महतो अहिले १८ विगाह क्षेत्रफलमा प्रविधिको प्रयोग गरी धान रोप्ने तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “मेसिनको प्रयोग गरेर वर्षायाममा धान रोप्नका लागि असहज हुन्छकी भन्ने लागेको थियो । सजिलै हुँदो रहेछ ।” पानीको मात्रा मिलाउन सकेमा खेताला प्रयोग गरेर रोपिने धानभन्दा मेसिनले रोपेको धानमा धेरै फाइदा हुने महतोले बताउनुभयो । उत्पादन राम्रो हुने र खर्च पनि कम लाग्ने भएकाले यसको प्रयोग गर्नेको सङ्ख्या वढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

धानको बीऊ आधा कम लाग्ने, रोप्न पनि ३५ प्रतिशतले कम खर्च लाग्ने भन्दै उहाँले भन्नुभयो “ब्याडमा राखेको बीउ रोप्न मिल्ने भए अहिले धेरैले यसको प्रयोग गर्ने थिए ।” प्रविधिको प्रयोग गरेर धान रोप्दा आफू प्रभावित भएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यहाँका कृषकले धान रोप्नका लागि ट्याक्टर, रोटाभेटर, कल्टिभेटर प्रयोग गर्दै आएका छन् । यस्तै नयाँ प्रविधिमा आधारित एमबिप्लो, ल्याण्ड लेजर लेभर, हिलोमा धान छर्ने ड्रम सिडर, धुलोमा धान छर्ने सिड कम फर्टिलाइजर, नर्सरी बिरुवा राख्ने मेसिन, धान रोप्ने मेसिन, मल छर्ने मेसिन, झार गोड्ने मेसिन, धान काट्ने रिपर, कम्वाइन हार्भेष्टर, पराल वेर्ने मेसिनलगायतको प्रयोगमा कृषकहरु आकर्षित बन्दै गएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख राजन ढकालका अनुसार गत वर्ष प्रविधिको प्रयोग गरेर धान रोप्नेको सङ्ख्या कम भए पनि यस वर्ष बढेर गएको छ । गत वर्ष वर्षे धान जिल्लाको दुई विगाहा क्षेत्रफलमा प्रविधिको प्रयोग गरेर रोपिएको थियो भने चैते धान ११ विगाहामा रोपिएको थियो । यस वर्ष जिल्लाको विभिन्न स्थानमा गरी वर्षे धान ३० विगाहा क्षेत्रफलमा प्रविधिको प्रयोग गरेर रोपिने उहाँले जानकारी दिनुभयो । ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच वर्षको प्रयत्नपछि कृषकलाई प्रविधिमैत्री बनाउन लागिएको हो ।

परम्परागत शैलीमा धान रोपाइँ गर्दा कृषकको लागतभन्दा उत्पादन कम आउने गरेको भन्दै उहाँले भन्नुभयो “प्रविधिको प्रयोगले कम लागतमा बढी उत्पादन लिन सकिन्छ ।” प्रविधिको प्रयोग गरी धान रोप्नका लागि धानको बीउ १२ दिनदेखि २३ दिनभित्रको हुनुपर्ने छ । धान रोप्ने मेसिनको प्रयोग गरी धान रोप्नका लागि कृषकप्रति जागरण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार धान काट्नका लागि औजारको प्रयोग ६० प्रतिशत रहेको र धान रोप्नका लागि पनि आकर्षण हुँदै गएको छ ।

परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रमा राज्यको ध्यान नपुगेको भए पनि कृषकहरु प्रविधिमैत्री बन्दै गएको बताउनुभयो । परियोजनाको धान जोन क्षेत्रफल तीन हजार हेक्टर भए पनि अन्य क्षेत्रका कृषकहरु पनि प्रविधिप्रति जागरुक बन्दै गएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिलेको समय कृषिमा यन्त्रीकीकरणको हो । यसलाई सबैले प्रोत्साहन गर्न जरुरी छ ।”

जिल्लामा अहिले धान रोप्ने मेसिन नौ वटा रहेका छन् । थ्री हुइलर्स राइडिङ् मेसिन पाँच वटा र फोर हुइलर राइडिङ् मेसिन चार वटा रहेका छन् । यी मेसिनले दिनमा पाँच विगाहा क्षेत्रफलसम्म धान रोप्न सक्ने अनुमान गरिएको छ । हिलोमा धान छर्ने मेसिन चार वटा, धुलोमा धान छर्ने मेसिन १० वटा, नर्सरी बिरुवा राख्ने मेसिन चार वटा, कम्बाइन हारवेष्टर पाँच वटा, रिपर ५० वटा, एक फिट भन्दा गहिरो बनाएर जमिन जोत्ने एबिप्लो तीन वटा, जमिनको सतह मिलाउने ल्याण्ड लेजर लेभर चार वटा छन् । यस्तै मल छर्ने मेसिन हाललाई प्रदर्शनीको रुपमा मात्रै राखिएको पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा वर्षे धान २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा लगाइँदै आइएको छ । यस वर्ष चाँडो मनसुन शुरु भएकाले अहिले जिल्लामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार माडी क्षेत्रमा ८५ प्रतिशत र पूर्वी चितवनमा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने भरतपुर महानगरमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

जिल्लाको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० मध्ये २१ प्रतिशत अर्थात ४६ हजार ८९७ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको छ । यसमध्ये ७२ प्रतिशत जमीनमा सिँचाइको व्यवस्था रहेको ढकालले जानकारी दिनुभयो । यहाँ विशेषगरी साबित्री, सावा मसुली, सावा १, स्वर्ण सव १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३ चैते ५, बहुगुणी १, बहुगुणी २ जस्ता धान रोप्ने गरिन्छ ।

यसैबीच कृषि ज्ञान केन्द्र भरतपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुरले मङ्गलबार असार १५ गते अठारौं राष्ट्रिय धान दिवसको अवसरमा पूर्वी चितवनको रत्ननगर नगरपालिका—१५ पिठूवामा मेसिनबाट धान रोपेर मनाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !