७ बैशाख २०८१, शुक्रबार

शिवसताक्षी नगरपालिका-६ मा पशु बीमा कार्यक्रम प्रभावकारी


पशु बीमा

झापा । शिवसताक्षी नगरपालिका–६ ले १६० किसानको निःशुल्क पशु बीमा गरिदिएको छ । पशुपालनबाट किसानको आयआर्जनमा वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले वडामा निःशुल्क पशु बीमा अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो ।

उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रमअन्तर्गत किसानले पालेको गाई, भैसी, बाख्रा, बङ्गुरलगायतको निःशुल्क बीमा गरिएको र सो बापत बीमा कम्पनीलाई बुझाउनुपर्ने सम्पूर्ण शुल्क वडा कार्यालयले नै भुक्तानी दिइने गरेको छ ।

वडाको अधिकांश किसानको घरमा उन्नत जातका गाई छन् । चन्द्रडाँगी बीउविजन केन्द्रमा केही वर्ष पहिले नश्ल सुधारका लागि राखिएको बीउ साढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उहाँले बताउनुभयो । कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले शुरुमा किसानले नबुझेर बीमा गर्न नमाने पनि अहिले आफैं फोन गरेर बोलाउने गरेको बताउनुभयो ।

उहाँका अनुसार बजारमा ९५ हजारसम्म मूल्यपर्ने गाईको रु.७५ हजारसम्मको बीमा गर्ने गरिएको छ । “पशु बीमाले किसानलाई सहयोग पुगेको छ”, स्थानीयवासी शर्मिला विकले भन्नुभयो “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई मद्दत पुग्छ ।”

वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको छ । आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने वडाध्यक्ष कार्कीको भनाइ छ । बीमा कम्पनीका अभियकर्तालाई लिएर वडाध्यक्ष आफैंले पशु बीमा गराउनका लागि किसानको गोठगोठमा पुग्ने गर्नुभएको छ ।

बीमाबापत एक वर्षभित्र पशु दुर्घटना वा रोग लागेर मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ । पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न र नश्ल सुधार तथा वडालाई दुध, दही, घ्यूमा आत्मनिर्भर बनाउनका लागि पशु बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

बीमा कम्पनीले बीमा गरेको पशुको कानमा सिरियल नम्बरसहितको ट्याग लगाइदिन्छ । बीमाको दाबी भुक्तानी माग गर्ने किसानले पशु मरेको तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिस पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !