१२ बैशाख २०८१, बुधबार

बन्दाबन्दीका कारण हाँस बिक्री नहुँदा चिन्ता


हाँस

तनहुँ । बिक्रीको लागि तयारी अवस्थामा पुगेको हाँस बन्दाबन्दीका कारण बिक्री नहुँदा यहाँका हाँस व्यवसायीलाई चिन्तित बनाएको छ । व्यासनगरपालिका–१३ निवासी इश्वराज पन्थले पालेको स्थानीय हाँस आफ्नो फार्ममा अझै बिक्री नभएर फार्ममा रहँदा उनलाई चिन्ताले पिरलेको छ । उनको फार्ममा करिब १ करोड बीस लाख बराबरको हाँस बिक्री हुन नसकेर रहेको छ ।

शुरुमा दश हजार हाँस राखेका उनकोमा अहिले करिब ७ हजार हाराहारी हाँस छन् । निषेधाज्ञा नखुल्दा दैनिक रु.५० हजार बढीको दाना खुवाएर पाल्नुपर्ने बाध्यता छ । पटक पटक निषेधाज्ञाको अवधि थपिदै जाँदा हाँसलाई दाना खुवाउन समेत धौ धौ भएको छ । उनले भने, “अघाउने गरी दाना दिने हो भने दिनमै सवा लाखको दाना खाइदिन्छ, त्यसैले जेनतेन तरिकाले पाल्नुपरेको छ ।”

दोस्रो भेरियन्ट सहितको कोभिड-१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आव्हान गरेपछि बजारका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

किसान पन्थले दुई वटा फार्म दर्ता गरी सोही वडाको गुँदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की पाँच सय पालेका छ भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस छुट्टाछुट्टै तरिकाले पाल्दै आएका छन् ।

दुई स्थानमा बस्ने घर निर्माण, जग्गा खरीद र फार्मको लागि आवश्यक संरचना निर्माण गर्दा करिब रु.१४ करोडको लगानी गरी फार्म सञ्चालनमा ल्याइए पनि पहिलो गाँसमै ढुङ्गा लागे जस्तो भएको पन्थले बताए ।

किसान पन्थले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायीक रुपमा व्यवसाय थाल्नुभएको हो । बन्दाबन्दी पश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखेपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म खुद्रा मासु बिक्री हुने गरेको छ । बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत कठिनाई भोग्नुपरेको किसान पन्थले बताए ।

हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो अर्डर लिएर बेलुका घरघरमा पुर्याइदिने गरिएको छ । उनले भने, “दाना खुवाउन पनि समस्या हुनथालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ।” निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुदैन्थ्यो ।

उनले भने, “होटल तथा रेष्टुरेन्टहरुमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।” केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज सुकुटी रु.एक हजार पाँच सयमा बिक्री गर्ने गरी प्याकेजिङ कार्य समेत अनिता ढकाल पन्थले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !