७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारसँग १८ हजार स्याउका बिरुवा माग


स्याउका बिरुवा

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउ खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो ।

स्याउखेतीको बढी सम्भावना भएका हुम्लाका गाउँपालिकालाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले १८ हजार स्याउका बिरुवा माग गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो । स्याउखेती गर्ने किसानको विवरण लिएर प्रदेशसँग ती बिरुवा माग गरिएको हो । अब प्रदेशले बजेट वा बिरुवा के पठाउँछ त्यो खोलिएको छैन ।

प्रदेश सरकारकाबाट स्याउ वा रकम जे आए पनि व्यावसायिक स्याउ खेती गर्ने किसानलाई सुविधा उपलब्ध हुने भएको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिकाका आठवटै वडा स्याउखेतीका लागि उपयुक्त भएको र किसानसँग बिरुवा मागका लागि निवेदन माग गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले कम्तीमा १०० बोट स्याउ लगाउने गरी निवेदन दिन किसानसँग आग्रह गरेको थियो । गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रमबाट पनि छ हजार स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !