पशुपालनका लागि सहुलियत ऋणअन्तर्गत १३ करोड कर्जा प्रवाह



करोड

दमौली, ७ असोज । गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ ।

जिल्लामा रहेका विभिन्न छ वटा बैङ्कले पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

आर्थिक वर्ष २०७६/७७ मा एक सय ८७ किसानले सहुलियत ब्याजदरको ऋण सुविधा लिएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहँुले जनाएको छ । केन्द्रका अनुसार लक्ष्मी बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सनराइज बैङ्क र कृषि विकास बैङ्कले ती किसानलाई पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण प्रवाह गरेका छन् ।

केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका किसानले बाख्रा, कुखुरा र गाईभैसीपालन गरेको जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा लक्ष्मी बैङ्कले एक सय २१ कृषकलाई रु तीन करोड ६० लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १३ कृषकलाई रु तीन करोड ५० लाख, कुमारी बैङ्कले १६ कृषकलाई रु दुई करोड ७० लाख, सनराइज बैङ्कले ९ कृषकलाई रु एक करोड २६ लाख र कृषि विकास बैङ्कले २८ कृषकलाई रु दुई करोड २० लाख कर्जा प्रवाह गरेका छन् ।

लक्ष्मी विकास बैङ्कका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बैङ्कबाट सबैभन्दा बढी कुखुरापालन व्यवसायका लागि रु ७५ लाख कर्जा प्रवाह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पशुपालनतर्फ दुग्ध उत्पादक सहकारीका शेयर सदस्यलाई सामूहिक जमानीमा रु चार लाखसम्म बिना धितो कर्जा प्रवाह गरिएको छ । “एउटा पशुबापत बढीमा रु ९० हजारसम्म कर्जा प्रवाह गर्छौ,” उहाँले भन्नुभयो, “धितोको आधारमा रु पाँच करोडसम्म सहुलियत कर्जा प्रवाह हुन्छ ।”

पशुपछीपालनका लागि बैङ्कले ६ दशमलव २३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी पाँच प्रतिशत व्याजदर भने सरकारले बेहोर्नेछ । कृषि तथा पशुपछी कर्जा १८ वर्ष उमेर पुगेकाले पाउँछन् । रु दश लाखसम्म कर्जा लिन सामूहिक जवानी, रु दश लाख भन्दामाथि कर्जा लिन संस्था र रु एक करोड भन्दामाथि कर्जा लिन कम्पनीले जवानी बस्नुपर्ने व्यवस्था सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधिले तय गरेको छ ।

३७ हजार पशुमा कृत्रिम गर्भाधान
कृत्रिम गर्भाधानतर्फ पशुपालक कृषकको आकर्षण बढ्दै गएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुई जिल्लामा एक वर्षको अवधिमा ३७ हजार भन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरेको जनाएको छ ।

दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले तनहुँमा नौ हजार चार सय ५४ र नवलपुरमा २८ हजार पाँच सय ३८ पशुमा कृत्रिम गर्भाधान गरेको सो कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँमा पाँच हजार नौ सय ८८ गाई, तीन हजार चार सय १९ भैसी र ४७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । त्यस्तै नवलपुरमा २१ हजार ७ सय ६२ गाई, छ हजार ५ सय ३९ भैसी र दुई सय ३७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ ।

तनहुँतर्फ भेटेरीनरी अस्पताल र व्यास नगरपालिकामा एक हजार ९४५, भानु नगरपालिकामा ६०२, भीमाद नगरपालिकामा २४०, शुक्लागण्डकी नगरपालिकामा दुई हजार १२१, बन्दीपुर गाउँपालिकामा २९५, आँबुखैरेनी गाउँपालिकामा दुई हजार ८०६, म्याग्दे गाउँपालिकामा ४४९ र देवघाट गाउँपालिकामा ९९६ पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।

त्यस्तै नवलपुरतर्फ गैडाकोट नगरपालिकाका नौ हजार ३२, देवचुली नगरपालिकाका चार हजार ६८०, कावासोती नगरपालिकाका तीन हजार ७३९, मध्यविन्दु नगरपालिकामा तीन हजार ३४०, विनयत्रिवेणी गाउँपालिकाका चार हजार २०६ र हुप्सेकोट गाउँपालिकाका तीन हजार ५४१ पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।

डा. श्रेष्ठका अनुसार कृत्रिम गर्भाघान गरिएका २७ हजार ७५० गाईमध्ये ६५ प्रतिशतमा सफल भएको छ । त्यस्तै नौ हजार ९५८ भैसीमध्ये ५८ प्रतिशत र २८४ बाख्रामध्ये ४० प्रतिशतको सफल गर्भाधान भएको छ । आर्थिक वर्ष २०७५/७६ भन्दा २०७६/७७ मा कृत्रिम गर्भाधान १२ प्रतिशतले बढेको छ । आव ०७५÷७६ मा २६ हजार ७१२ गाई, सात हजार २३७ भैसी र ५७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको थियो ।

सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुहरूमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा. श्रेष्ठले बताउनुभयो ।

कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् भने जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नपर्दैैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

टीकापुर, ४ कात्तिक । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी

वाग्मती , ३ कात्तिक । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्ने

महोत्तरी, ३० असोज । महोत्तरीका किसानलाई नगद जोहोको सहारा ओलखेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन

परासी, ३०असोज । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् ।