८ बैशाख २०८१, शनिबार

तस्करी मटर बरामद


मटर

सप्तरी, ९ भदौ । हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरुपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले गए राति बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा लादिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

तस्करीका लागि तयार गरिएको मटरसहितका ६ डुङ्गा हनुमाननगर कङ्कालिनी–११ सखुवास्थित कोशीको स्पर छेउबाट नियन्त्रणमा लिइएको हो । गोप्य सूचनाका आधारमा खटाइएको टोलीले मटरसहितको डुङ्गा बरामद गरे पनि तस्कर फेला नपरेको सप्रउ श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार एउटा बोरामा २५ किलो मटर छ । बरामद गरिएको मटरको मूल्य रु दुई लाख ४७ हजार पाँच सय रहेको छ । सशस्त्र प्रहरीले भन्सार कार्यालय कुनौली बेल्हीमा बुझाउने तयारी भइरहेको जनाएको छ ।

सशस्त्र प्रहरीले गत साउन २३ गते पनि ५० बोरा मटर नियन्त्रणमा लिएको थियो । कोरोनाका कारण गरिएको लकडाउनले अन्य नाका प्रयोगमा कठिनाइ भएपछि तस्करले सप्तकोशी नदीलाई तस्करीको बाटाका रुपमा प्रयोग गर्न थालेका हुन् । तस्करले विभिन्न स्थानबाट मटर सङ्कलन गरी हनुमाननगर क्षेत्रस्थित गोदाममा भण्डारण गर्ने र राति डुङ्गामार्फत कोशी तारेर भारत पु¥याउँदै आएका छन् ।

नेपालमा सस्तो मूल्यमा पाइने मटर भारतमा राम्रो भाउमा बिक्ने गरेको छ । नेपालमा तेस्रो मुलुकबाट आयातीत मटरको तुलनामा प्रतिकिलो रु ५० कम पर्न थालेपछि भारततर्फ अवैध निर्यात बढेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !