लगातारको वर्षा, तरकारी किसानको चिन्ता Nepalpatra
१८ मंसिर २०७७, बिहिबार

लगातारको वर्षा, तरकारी किसानको चिन्ता


सामूहिक तरकारीखेती

महोत्तरी, १६ साउन । असारदेखि नै लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरोलो बढेको हो ।

असारदेखि लगातार जसो पानी परिरहेकाले लहरे तरकारी बालि र अन्य तरकारी बालीका बोट सुक्दै गएका छन् । वर्षाको पानीले चुटेर पूmल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि किसानले तरकारी बालीबाट नगद आम्दानीको आस मरेका छन् ।

खासगरि चाहेको बेला सिञ्चित गर्न सकिने, पानी नजम्ने रुखो जग्गामा लगाइने तरकारी बाली लगातार पानी परिरहेर गोडमेल र उपचार नपाउँदा पहेलिएको किसानको भनाइ छ । “लगातार पानी परिरहेको छ, गोड्न पाइएन” जिल्लामै कहलिएका तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादवले भन्नुभयो, “गोडमेल नपाएपछि बारीभरि झार बढेर किराको प्रकोप बढ्दा बालीबाटै हात धुने स्थिति आयो ।”

लगातारको वर्षाले करेला, फर्सी, घिरौला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला (लहरा) सुकेका छन् । खासमा असारअन्तिम साताको ६ दिन, साउन पहिलो साताको तीन दिन र भर्खरै गत बुधबार र बिहीबार परेको मुसलधारे वर्षाले हिँउदसम्म उत्पादन दिने लहरे र खोर्सानी, भाण्टासहित तरकारी बाली सकेको आम किसानको गुनासो छ ।

महोत्तरीका बर्दिवास नगरपालिकाको माइस्थान, भब्सी, चेरु, टुटेश्वर र बरडाँडा र गणन्तासहितका बस्ती तरकारी बालीमा परबल खेतीका लागि पकेटक्षेत्र मानिन्छन् । यी बस्तीमा लगाइएको परबल अहिले गोडमेल गर्न नसक्दा पानीले गलेर लहरा पहेलिएका, चिचिला र फल पनि कलिलैमा चाउरिएको र चुँडिएर झरेका माइस्थानका परबल किसान सोमबहादुर कार्कीले बताउनुभयो ।

कृषि क्षेत्रकै लामो सरकारी सेवाबाट खेतीमा फर्कनु भएका बर्दिवास–५ चेरुका बासिन्दा पूर्वसहसचिव वाणिकराज काफ्ले पनि लगातारको वर्षाले परबल गलाएको बताउनुहुन्छ । “भिरालो पाखो जग्गाको परबल त मौसममा सुधार आएर गोडमेल र उपचार गर्न पाए फर्कला कि ! तर, गह्रामा लगाइएको परबलको भने अब आस म¥यो” काफ्लेले भन्नुभयो, “म आफैँ विज्ञ हुँ, गोडमेल र उपचारको कुरामा जानकार छु तर, प्रकृतिका अघि बस् चल्दो रहेनछ , परबल लगाएको जग्गा चिस्यानले भासिने बनाएको छ, पसी सक्नु छैन, के को गोडमेल..! के को उपचार ?”

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवनगुजाराको पेशा बनाएका हुन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलोनहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गा आकासे पानीकै भरमा गर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई अहिले लगातारको मुसलधारे वर्षा नै पिरोलो बनेको छ ।

भङ्गाहा–४ कै अर्का तरकारी किसान बहुरा महतोले विरत्तिदै भन्नुभयो, “राम्रो उत्पादन भएको चैत, वैशाख, जेठ र असार कोरोना महामारीको लकडाउनले खायो, यता मुसलधारे पानीले ।” बुढापाकाले भन्ने गरेका ‘हारेको जुनी’ आहान तरकारी किसानमै चरितार्थ भएको बहुराको भनाइ छ । महतोले भन्नुभयो, “बारीमा लरबर फल्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला ?” जिल्लामा १० हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती हुँदै आएको छ ।

यसैबीच प्रदेश–२ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई राहत दिने जनाएको छ । यसपालि लकडाउन अवधिको कृषि ऋणको ब्याज सरकारले तिरी दिएको र किसानका सुविधाका लागि प्रदेशका आठवटै (सबै) जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना गरेर सञ्चालनमा ल्याउन लागेको मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशका चार जिल्लामा मात्र सञ्चालनमा रहेका ज्ञान केन्द्र प्रदेश सरकारले यसै वर्षभित्र आठै जिल्लामा सञ्चालन गर्न लागेको हो ।

यसबाहेक कुलो नहर नपुग्ने जग्गामा सिँचाइका वैकल्पिक उपायको अवलम्बन, कृषि बजारको वैज्ञानिक व्यवस्थापन र आधुनिक खेती प्रणालीका लागि किसानलाई बीउविजन, मल र उपकरण (कृषि ज्यावल) सहज र सुलभ मूल्यमा पाउने ब्यवस्था गरिने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !