८ बैशाख २०८१, शनिबार

बोर्ड फेर्ने अधिकारसमेत पाएन पशुसेवा कार्यालयले


काठमाडौँ, २१ असार । स्थानीय तहलाई आफ्नो मातहतका जनतालाई सेवामुखी सबै कार्यालयको जिम्मेवारी दिने संवैधानिक व्यवस्था भई कार्यान्वयन सुरु भएको तीन वर्ष बिते पनि स्थलगत रुपमा त्यस्तो हुन सकेको छैन ।

दूरदराजको त कुरै छोडौँ राजधानीकै नगरपालिकाले आफ्ना अधिकार कार्यान्वयन गर्न सकेका छैनन् । गोकर्णेश्वर नगरपालिका मातहत रहेको पशु सेवा कार्यालयको बोर्ड फेर्ने अधिकारसमेत सो कार्यालयलाई छैन । नगरपालिकाको एउटै पशु सेवा कार्यालयको बोर्ड तीन वर्षदेखि च्यातिएर बुझ्न नसकिने भएको छ । यसका कारण सेवाग्राहीलाई कार्यालय खोज्न धौ धौ हुने गरेको छ । तर फेर्ने अधिकार नगरपालिकाले आफैँमा सीमित राखेको कार्यालयका कर्मचारीको गुनासो छ ।

नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको कार्यालयमा जनशक्तिको समेत अभाव छ । नगर क्षेत्रमा अझै पनि धेरै किसानले पशुपालन गरिरहेका छन् । खाली स्थानमा व्यावसायिक रुपमा कुखुरा, गाई फार्म चलाउने क्रमसमेत बढेको छ । तर कार्यालय एकजना पशु सहायकका भरमा चलेको छ । अर्का एक कार्यालय सहयोगी भए पनि उनीसँग पशुको उपचार गर्ने ज्ञान, सीप नहुने सेवाग्राहीको भनाइ छ ।

जनशक्ति नहुँदा पशुपालकको मागअनुसार सबैतिर पुगेर सेवा दिन नसकिएको पशु सेवा सहायक शान्ता खनालले बताउनुभयो । कार्यालयका प्रमुख, उपप्रमुखलगायत पशु संरक्षण अधिकृतको पद रिक्त भएको पनि तीन महिनाभन्दा बढी भइसक्यो । तर पदपूर्ति हुन सकेको छैन । “बोर्ड च्यातिएर नबुझिने भएको गुनासो म आउनुभन्दा अघि पनि नगरपालिकामा गरिएको रहेछ, मैले पनि पटकपटक भनिसकेँ, नगरपालिकाका अधिकृत भीमबहादुर शाहीले हुन्छ भने पनि कार्यान्वय भएको छैन, जनशक्तिको कमी रहेको गुनासो पनि गरेका छौँ, पशु सेवाको विषयलाई नगरपालिकाले ध्यान नदिएजस्तो अनुभव गरेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयमा हाल पशु सहायक खनाल र कार्यालय सहयोगी क्रान्ति लामामात्र कार्यरत छन् । पशु चिकित्सकको पद रिक्त भएको महिनौँ बित्दासमेत पदपूर्ति नहुँदा सेवा पाउनबाट वञ्चित हुनु परेको सेवाग्राहीको गुनासो छ । नगरपालिकाको १ नं वडाको मूलखर्क, ओखरेनी, चिलाउनेलगायत दुर्गम स्थानबाट घण्टौँ हिँडेर सेवा लिन जाँदा पनि पाउन नसकिने अवस्था रहेको सेवाग्राही रणबहादुर तामाङको गुनासो छ ।

पशुपालक किसानको समस्यामा नगरपालिकाको ध्यान नगएको तर्फ यहाँका हजारौँ नागरिकले दुःख प्रकट गरेका छन् । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना तीन दिनभित्र बोर्ड फेरिने प्रतिबद्धता जनाउनुहुन्छ ।

नगरपालिकाका सूचना अधिकारी भीमबहादुर शाही बोर्ड फेर्ने अधिकार कार्यालयलाई भए पनि कर्मचारीले नगरेको बताउनुहुन्छ । सातौँ तहका कार्यालयप्रमुख हुँदा तला थप्न छुट्याएको बजेटबाट चालू आर्थिक वर्षमा केही काम गर्न नसकेको उहाँले बताउनुभयो ।

कर्मचारी रिक्त भएको विषय लोक सेवा आयोगलाई लेखी पठाएकामा प्रदेश लोक सेवा आयोग गठन भइसकेकाले त्यहाँ लेखी पठाउन पत्राचार भइआएको जानकारी पनि उहाँले दिनुभयो । सातौँ र छैटौँ तहका पशु चिकित्सकले एकै पटक राजीनामा दिँदा कार्यालय सहयोगीका भरमा चलेको कार्यालयमा सुत्केरी बिदामा बसेकी खनाललाई बोलाएर सकेको सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !