१३ बैशाख २०८१, बिहिबार

नयाँ सिजनको युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात


भदौ २८, काठमाडौँ । ईटालीयन च्याम्पियन युभेन्टसलाई ३-० ले हराउँदै बार्सिलोनाले नयाँ सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुवात गरेको छ ।

 मंगलबार राति आफ्नै मैदानमा भएको समुह चरणको पहिलो खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा इभाँ राकिटिचले एक गोल गरे । च्याम्पियन्स लिगअन्तर्गत समुह डि कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले ग्रीसको ओलम्पियाकोसलाई ३-२ ले पराजित गर्‍यो ।

उता समुह ए को खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको एफ.सी. बाजललाई ३-० ले हरायो । म्यान्चेस्टर युनाईटेडका लागि मराउने फेलियानी, रोमेलु लुकाकु र मार्कस रास्फोर्डले एक-एक गोल गरे ।

यही समूहको अर्को खेलमा रुसको सि.एस.के.ए मस्कोलाई पोर्चुगलको बेनिफिकाले उसैको मैदानमा २-१ ले हरायो । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिखले बेल्जियमको एण्डरलेच्टलाई ३-० ले हराउँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले स्कटल्याण्डको सेल्टिकलाई ५-० ले पराजित गर्‍यो ।

इङ्लिस च्याम्पियन चेल्सीले समुह सि को खेलमा काजखस्तानको एफके कारावागलाई ६-० ले पाखा लगायो । यही समुहको अर्को खेलमा ईटालीको ए.एस. रोमाले स्पेनको एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा चित्त बुझाउनुपर्‍यो । च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ई देखि एचसम्मका बाँकी आठ खेल आज राती हुनेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !