११ बैशाख २०८१, मंगलबार

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना : मन्त्री जगत विश्वकर्मा


jagat bishvakarma

९ वैशाख, पोखरा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आइतबार बधाई तथा शुभकामना दिँदै १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन् ।

एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले राष्ट्रको प्रतिष्ठामाथि उठाउनेमा आफू ढुक्क रहेको बताउँदै उनले यो ऐतिहासिक अवसरलाई राष्ट्रको गरिमा बढाउने गरी खेलाडीलाई प्रदर्शन गर्न आग्रह गरे ।

अठारौँ एशियाली खेलमा जाने अफिसियललाई कडाइका साथ नियन्त्रण गर्ने बताउँदै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरी देशको प्रतिष्ठालाई उच्च राख्ने खेलाडीलाई सम्मान गरिने जानकारी दिए ।

सो प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपालका तर्फबाट दुई उपविद्यामा १० जना खेलाडीले तीन मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक १८औँ एशियाली खेलकूदमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा करीब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने बताइएको छ ।

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलकूदका गतिविधि ग्रामीण क्षेत्रमा विस्तार गरिने बताएका छन् । कास्कीको पर्यटकीय गाउँ धम्पुसमा लाली गुराँस युवा क्लबद्वारा आयोजित गन्तव्य धम्पुस महोत्सवको शनिबार समापन समारोहमा बोल्दै उनले ग्रामीण क्षेत्रमा रहेका खेलमैदानको स्तरोन्नति मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !