४ बैशाख २०८१, मंगलबार

(एसीसी) यू-१६ : समूह चरणको अन्तिम खेलमा आज नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दै


cricket-nepali-team

२८ मंसिर, काठमाडौँ l एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेकाले म्यानमारविरुद्धको खेलमा नेपाललाई दबाब हुने छैन।

यद्यपि समूह चरणको सबै खेल जित्दै विजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम चारमा पुग्ने उद्देश्य पूरा गर्न म्यानमारविरुद्धको खेलमा जित आवश्यक छ । नेपालले समूह चरणमा यसअघि खेलेको दुईमध्ये दुवै खेलमा जित हात पारेको छ । पहिलो खेलमा सोमबार आयोजक थाइल्यान्डलाई एक सय ३३ रनको भारीअन्तरले पराजित गरेको नेपालले दोस्रो खेलमा हङकङलाई मंगलबार चार विकेटले पराजित गरेको थियो । त्यसैले बिहीबारको खेलमा जित हात पारेको अवस्थामा नेपाल समूह चरणको सबै खेल जित्दै विजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम चारमा पुग्नेछ।

तुलनात्मक रूपमा म्यानमार प्रतियोगिताकै कमजोर टोली मानिएकाले नेपालले जितका साथ समूह विजेताको हैसियत बनाउनेछ । चार टोली सम्मिलित समूह एमा म्यानमारले जित हात पार्न सकेको छैन । म्यानमारले पहिलो खेलमा हङकङसँग दुई सय १२ रनको भारी अन्तरको पराजय बेहोर्दा दोस्रो खेलमा थाइल्यान्डसँग पनि ६ विकेटले पराजित हुन पुगेको थियो । यसअघिका प्रतियोगितामा खासै प्रतिस्पर्धा नगरे पनि जारी प्रतियोगिताको प्रदर्शनले नेपाललाई बलियो देखाएको छ।

समूह विजेता बनेको अवस्थामा नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता प्रतिद्वन्द्वी पाउनेछ । समूह बीबाट मलेसिया र चीनमध्ये एक टोली उपविजेता हुने सम्भावना छ । सर्वाधिक चार अंकका साथ सिंगापुर समूहको शीर्ष स्थानमा रहँदा समान दुईदुई अंक जोडेका मलेसिया र चीन दोस्रो र तेस्रो स्थानमा रहेका छन् । जितविहीन रहेको भुटान पुछारमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !