१३ बैशाख २०८१, बिहिबार

वैदेशिक रोजगार : कोरिया युवाको मुख्य आकर्षण


South Korea
Saroj Rijal
सरोज रिजाल

आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर गर्ने श्रम गर्ने रोजगारी नै वैदेशिक रोजगार हो।  नेपाली युवा श्रमिक कामदार हरुको रोजगारी को आकर्षक गन्तब्य को रुपमा रहेका मुलुकहरुमा मलेसिया , संयुक्त अरब इमिरेट्स , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

नेपालमा रोजगारीको अवसर नपाउनु र पाएपनि न्यून पारिश्रमिक मात्र उपलब्ध हुनुले विशेषगरी युवा युवतीहरुले नेपालमा रोजगार बन्न चाहिरहेको पाइदैन । बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरुलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। उनीहरुको मुख्य उद्देश्य नै विदेश जाने र छोटो अवधिमा ठूलो धन राशी आर्जन गर्ने मानसिकता रहेको पाइन्छ । हो, नेपाली मुद्रा सानो मूल्यको भएको कारण पनि विदेशमा कमाएको रकम यहाँ धेरै ठूलो मूल्यको हुने गर्दछ । अर्को कुरा स्वरोजगार बन्न विभिन्न कारणले स्वदेशमा कठिनाइ रहेको छ । पछिल्लो समयमा वैदेशिक रोजगारमा नेपालीको आकर्षण भनेको दक्षिण कोरियामा मजदुरी गर्नु बन्ने भएको छ ।

आकर्षक तलब र कम लागतमा नै दक्षिण कोरिया सरकारले नेपाली युवा जनशक्तिलाई विशेषगरी कृषि र औद्योगिक कामदारको रुपमा कोरिया लैजान सुरु गरेपछि वैदेशिक रोजगारको आकर्षण अझ बढ्न पुगेको छ । अहिले वेरोजगार युवा मात्रै नभएर शिक्षित र रोजगारीमा रहेका व्यक्तिहरुसमेत आकर्षक तलबको लोभमा कोरिया जाने तयारीमा लागेको लहर देख्न सकिन्छ ।

विशेषगरी केहि समय अगाडिसम्म खाडी मुलुक जाने अधिकांश युवाहरु अहिले कोरियन भाषा सिकेर कोरिया जाने तयारीमा लागेको पाइन्छ । त्यतिमात्र होइन नयाँ युवापुस्तामा त अहिले पढाइमा भन्दा वैदेशिक रोजगारको भुत नै चढेको देख्न सकिन्छ । यसका मुख्य दुई कारण रहेका छन् । नेपाल आर्थिक रुपमा धेरै नै पछि परेको राष्ट्र हो । अधिकांश व्यक्तिको आयस्रोत न्यून रहेको छ । स्वदेशमा रोजगार पाउने अवस्था छैन । त्यसैले आफ्नो दैनिक जीवन सञ्चालन गर्न र पारिवारिक उत्तरदायित्व पुरा गर्न बाध्यतावस परिवारसँग विछोड भएर वैदेशिक रोजगारमा लाग्न अधिकांश नेपालीहरु विवश छन् ।

सबैको चाहना आफ्नो छोराछोरीलाई सुखी र सम्पन्न बनाउने उद्देश्य हुन्छ, त्यसकै लागि परिवारले छोराछोरी माथि शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा लगानी गरेको हुन्छ । तर देश गरिब भएको र राजनैतिक खिचातानीका कारण अस्थिर बनेकाे देशको अवस्थाले देशमा विकास निर्माणले गति लिन सकेको छैन । विकास निर्माणका कार्य नहुँदा रोजगारीको अवसर सिर्जना नहुने भएकाले युवाले विदेश पलायन हुनु रहर होइन बाध्यता रहिआएको छ ।
पछिल्लो समयमा त युवा विदेश पलायन हुने दर यसरी भयाभह भएको छ कि यो पलायनको अवस्थालाई चाँडै नरोक्ने हो भने देशमा दीर्घकालिन असर पुग्न सक्ने देखिन्छ । शैक्षिक बेरोजगारहरु अमेरिका, अष्ट्रेलिया, जापान, युरोप लगायतका देशमा पलायन भइरहेका छन् भने अन्य बेरोजगार युवापुस्ताहरु साउदी अरब, कतार, मलेशिया, संयुक्त अरब इमिरेट्स, आदि देशमा जाने प्रवृति बढेको देख्न सकिन्छ । र यसै क्रममा पछिल्लो समयमा कोरिया मुख्य रोजगारीको गन्तव्य बन्न पुगेको छ ।

कोरियाप्रति युवाको आकर्षण देखिनुको मुख्य कारण नै त्यहाँ जान लाग्ने कम लागत हो । खाडी देशमा जान करिब एक लाखदेखि एक लाख पचास हजारसम्म बुझाउनु परिरहेको अवस्थामा कोरियाको लागत कम छ र कोरिया सरकारले नै सम्पूर्ण छनोट र कामदार लाने प्रकृया अगाडि बढाउने हुँदा सबैको चासो याे देशमा बढेको हो ।

तर कोरियामा कामदारको रुपमा जान भने अन्य देशमा जस्तो सहज छैन । सर्वप्रथम कोरियन भाषा सिकेर भाषा परीक्षा उत्तीर्ण हुनु अति आवश्यक हुन्छ । भाषा उत्तीर्ण हुनु नै कोरिया जानको लागि पहिलो खुड्किलो पार गर्नु हो । भाषा उत्तीर्ण भएपछि कोरिया सरकारले तोकेको निश्चित संख्यामा पर्न सके कोरिया जाने बाटो अगाडि बढ्छ । भाषा परीक्षामा जसले सबभन्दा बढी अंक ल्याउँछन् । ती युवायुवतीको नामावली रोस्टर सूचिमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी हुँदैन । भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए त्यस्ता युवायुवती कोरिया जान पाउँदैनन् ।

दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीको नाम रोस्टर सूचिबाट हट्छ । र, त्यस्ता युवायुवती कोरिया जान अयोग्य हुन्छन् । पुनःभाषा परीक्षा दिनुपर्ने र उत्तीर्ण भएमात्र फेरि प्रकृया सुरू हुन्छ । सन् २००८ यता नेपालबाट करिब ४२ हजार युवायुवती कोरिया गइसकेका छन् । भाषा परीक्षा भने ५० हजार ३ सय ६५ ले उत्तीर्ण गरेका छन् । जसमा महिलाको संख्या ४ हजार ३ सय ७४ छ । भाषा परीक्षा उत्तीर्ण गरेका महिलामध्ये अहिलेसम्म २ हजार ६ सय ६४ कोरियन रोजगारदाताको छनोटमा परेका छन् । ५० हजार ३ सय ६५ ले भाषा परीक्षा उत्तीर्ण गर्दा भाषा परीक्षाको प्रतिस्पर्धामा भने ३ लाख ३२ हजार ४ सय २ जना सहभागी भएको ईपीएस कोरिया शाखाको तथ्यांकले देखाउछ । यो तथ्यांकलाई हेर्दा पनि कोरियाप्रति नेपालीको आकर्षण कति छ भन्ने प्रष्ट हुन्छ ।

हाल चलिरहेको विदेश पलायनको अवस्था तत्काल रोक्न सक्ने स्थिति त नेपाल सरकारसँग छैन । देशमा रोजगारीको अवसर छैन । विकल्प विना युवालाई बन्देज लगाउनु जयज पनि हुन्न तर अब सरकारले देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गरेर, स्वरोजगारीलाई महत्व दिनुकासाथै प्रोहोत्सान गरेर युवा जनशक्तिको विदेश पलायन हुने क्रमलाई न्यूनिकरण गर्दै आगामी केहि वर्षभित्रमा नै पूर्णरुपमा पलायन रोक्ने नीति अहिले नै बनाउनु अति आवश्यक छ । नत्र नेपाल कामदार उत्पादन गर्ने देश मात्र बन्न पुग्ने र सामाजिक, सांस्कृतिक विकृति उत्पन्न भइ समाज अराजक बन्ने अवस्था अाउन सक्छ ।

त्यसैले चाँडाे युवाकाे विदेश पलायन राेक्न नीति र याेजना बनाएर नीतिलाई व्यवहारत लागु गर्न कदम चाल्नुपर्ने समय आइसकेको छ । देश विकास र सफल बनाउन युवाको महत्वपूर्ण भूमिका हुने हुँदा यस विषयमा सरकारले बेलैमा गम्भीर भएर सोच्नु र त्यस अनुरुपको कदम चाल्नु आवश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !