६ बैशाख २०८१, बिहिबार

टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने


असोज ४, काठमाडौँ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘ वाउटाइम एप्स ‘ मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सन्चालनमा आएको हो ।

उक्त एप्समार्फत लाइभ टीभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको संख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ । नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड/पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

हाललाई दशँै–तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ । एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स ‘गुगल प्ले स्टोर’ तथा ‘ एप्पल एप स्टोर ’बाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा ‘मोबाइल एप्स डाउनलोड’ गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !