६ बैशाख २०८१, बिहिबार

गुगलको नयाँ स्मार्टफोन अक्टोबरमा सार्वजनिक हुने


असोज ३, काठमाडौँ | आगामी ४ अक्टोबरमा गुगलले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै सार्वजनिक भएको गुगलको एक नयाँ टिजर अनुसार पिक्सेल टू र पिक्सेल टू एक्स एल नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज हुने भएको हो । यद्यपि यस दिन गुगलका कुन कुन फोन आउँदैछन् भन्ने नभनिए पनि उल्लेखित दुबै स्मार्टफोन गुगलले एकसाथ सार्वजनिक गर्ने अड्कल गरिएको बताइएको छ ।यो वर्ष अन्य सबैजसो प्रतिस्पर्धी कम्पनीहरुले आफ्ना फ्लागसीप फोन लञ्च गरिसकेको अवस्थामा गुगलको स्मार्टफोन लञ्च वर्षको अन्तिम हेभीवेट लञ्च हुनेछ।

एप्पलले आफ्ना तीन नयाँ स्मार्टफोन लञ्च गरेको दुई दिनपछि नै गुगलले उक्त  टिजर सार्वजनिक गरेको हो । पिक्सेल टू र पिक्सेल टू एक्स एल गूगलका फ्लागसीप स्मार्टफोन हुनेछन् ।त्यस्तै गुगलले अर्को एक रोचक भिडियो पनि सार्वजनिक गरेको छ । जसमा स्मार्टफोन सम्बद्ध विभिन्न प्रश्नहरु सोधिएको छ र त्यसको जवाफ अक्टोबर ४ मा पाइने संकेत गरिएको छ ।

एक रिपोर्टलाई आधार मान्दा गुगलको पिक्सेल टू स्मार्टफोन एचटीसी कम्पनीले बनाइरहेको छ । यो फोनमा स्क्विजेबल फ्रेम हुनेछ । यसमा फोनको स्क्रिनलाई दबाएकै भरमा विभिन्न कार्य गर्न सकिन्छ ।त्यस्तै पिक्सेल टू एक्स एल भने एलजी कम्पनीले बनाइरहेको छ । यसमा ६ इन्चको भेजललेस डिस्प्ले हुनेछ, जुन एलजीको जी सिक्स तथा भी ३० स्मार्टफोनमा रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !