८ बैशाख २०८१, शनिबार

पृथ्वी जत्रै सात ग्रह फेला पर्‍यो, तीन वटा बस्न योग्य: त्यहाँ पानीको सतह पनि


planet like earth

खगोलशास्त्रीहरुले कीर्तिमानी संख्यामा, एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीकै जत्रो आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लगाएका छन्।

पृथ्वीबाट ४० प्रकाश वर्षको दुरीमा रहेका ती ग्रहहरु पत्ता लागेको घटनालाई पृथ्वी बाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज भनिएको छ।

नयाँ पत्ता लागेका ग्रहमध्ये तीन वटा बस्न योग्य क्षेत्रमा छन् र त्यहाँ पानीको सतहपनि पाइएकाले जीवन सम्भव हुनसक्ने ठानिएको छ।

उक्त अनुसन्धान ‘नेचर’ नामक जर्नलमा छापिएको थियो।
प्रगति

‘मिल्की वे’ तारापुन्जको ‘ट्रयापिस्ट वान’ नाम गरेको उक्त तारालाई परिक्रमा गरिरहेका ती ग्रहहरु अमेरिकी अन्तरिक्ष निकाय नासाले दूरदर्शक यन्त्र टेलिस्कोप र पृथ्वीबाट गरिएका अवलोकन विधिबाट पत्ता लगाएको हो।

म्यासाचुसेष्टस इन्स्टिच्युट अफ टेक्नोलोजीकी ग्रह सम्बन्धी विज्ञानकी प्राध्यापक सारा सिगरले पछिल्लो खोज निकै महत्वपूर्ण भएको बताइन्।

उनी भन्छिन्, “यो खोजसँगै हामीले पृथ्वी बाहिर बस्न योग्य क्षेत्र र जीवन खोज्ने दिशामा एकदमै ठूलो फड्को मारेका छौँ किनभने एउटा मात्र ग्रह नभइ धेरैवटा ग्रह पत्ता लागेको छ, त्यही भएर हामीसँग अब मौका र सम्भावना पनि धेरै छ।”

अहिले उपलब्ध प्रविधि अनुसार पृथ्वीबाट ती ग्रहहरुसम्म पुग्न कयौँ लाख वर्ष लाग्ने वैज्ञानिकहरुले बताएका छन्।

अनुसन्धानका प्रमुख लेखक माइकल गिलोनले भने, “ती ग्रहहरु एक अर्काको एकदमै नजिक छन् र आफ्नो ताराको नजिकै छन् र हेर्दा बृहस्पति गृहका चन्द्रमा जस्तै देखिन्छन्।”

उनका अनुसार ‘ट्रयापिस्ट वान’ तारा एकदमै सानो छ र ती सात वटै ग्रहहरुको तापक्रम मध्यम छ जसको अर्थ त्यहाँ तरल अवस्थामा पानी हुनसक्छ र सम्भवत जीवनको अस्तित्व रहेको समेत फेला पर्न सक्छ।
अवसर

बीबीसीका विज्ञान सम्पादक डेभिड सुक्मेन भन्छन्, ‘हाम्रो सौर्य मण्डलभन्दा बाहिर धेरै ग्रहहरु रहेको पत्ता लागिसकेको छ त्यही भएर अहिले फेला परेका नयाँ ग्रहहरुको सम्भावित महत्वबारे चाख लाग्नु नौलो होइन।’

नासाको पछिल्लो तथ्याङ्कले अहिलेसम्म ३ हजार ४ सय ४९ वटा ग्रहहरु पत्ता लागिसकेको देखाउँछ।

तर प्रत्येक नयाँ घोषणासँगै बढी प्रचारमात्रै गरिएको हो कि भन्ने आशंकाहरु व्यक्त गरिन्छन्।

तर अहिलेको नयाँ खोजका कारण उत्साह पैदा हुनुको कारण यो अस्वाभाविक ठूलो स्तरमा भएर वा धेरै ग्रहहरुको पृथ्वीकै आकारको भएर भन्ने मात्रै होइन्।

किन पनि चासो दिइएको छ भने ‘ट्रयापिस्ट वान’ नामक तारा सानो र मधुरो रहेको छ।

त्यसैले पर रहेका चम्किला ताराहरुलाई अध्ययन गर्दा प्रकाशका कारण टेलिस्कोपबाट देख्न गाह्रो हुने अवस्था ‘ट्रयापिस्ट वान’ ताराको अवलोकन गर्दा वैज्ञानिकहरुले भोग्नु परेन्।

एकदमै पर र वायुमण्डल भन्दा निकै टाढा रहेको विश्वको बारे थप अनुसन्धान गर्न पछिल्लो खोजले एउटा रोमाञ्चक बाटो खोलिदिएको वैज्ञानिकहरुको विश्वास छ।

अनुसन्धानको अर्को चरण अन्तर्गत ती ग्रहहरुमा के भइरहेको छ भन्ने जान्न प्रमुख ग्यासहरु अक्सिजन र मिथेन पाइन्छ कि पाइदैँन भनेर प्रमाण खोज्ने क्रम सुरु भइसकेको छ।

सौर्य प्रणाली बाहिरका ग्रहहरु जीवन हुनसक्ने निष्कर्षमा सजिलै पुग्न सकिदैँन।

तर यो नयाँ ग्रह प्रणालीले त्यहाँ जीवन रहेको या नरहेको संकेतबारे अनुसन्धान गर्ने एउटा सुनौलो मौका भने उपलब्ध गराएको बीबीसीका विज्ञान सम्पादक डेभिड सुक्मेनको निष्कर्ष छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !