१२ बैशाख २०८१, बुधबार

‘७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’


असोज ३, काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको जनाएको छ । आयोगको कार्यालय कान्तिपथमा सोमबार साँझ पत्रकार सम्मेलन गरी आयोगले प्रारम्भिक विवरणअनुसार ७३ प्रतिशत मत खसेको जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले मतदान शान्तिपूर्ण, उत्साहजनक र व्यापक सहभागितापूर्ण भएको बताए । आयोगले छिट्फुट घटनाबाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको पनि जनाएको छ ।

१३६ स्थानीय तहमध्ये प्रायः सबै स्थानमा ७० प्रतिशतभन्दा माथि मत खसेको छ । सबैभन्दा बढी मतदान रौतहटमा ७५ प्रतिशत मत खसेको छ भने बारामा पनि ७५ प्रतिशत हाराहारीमै मतदान भएको छ । यस्तै, सप्तरीमा ६५ प्रतिशत, सर्लाहीमा ७० प्रतिशत, पर्सामा ७२ प्रतिशत, महोत्तरीमा ६५ प्रतिशत, सिराहामा ७० प्रतिशत र धनुषामा ७० प्रतिशत मत खसेको पनि निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, निर्वाचनकाक्रममा विभिन्न ठाउँमा गरी ३८ जना नक्कली मतदाता पक्राउ परेको र नियमविपरीत गतिविधि गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि आयोगले जनाएको छ । आयोगले पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम आउने गरी व्यवस्थापकीय र प्राविधिक तयारी गरेको पनि दाबी गरेको छ ।

मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सोमबारै राति वा मंगलबार बिहानदेखि मतगणना सुरु गर्ने जनाइएको छ । यो निर्वाचनबाट प्रदेश नम्बर–२ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा ६ हजार ६२७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !