४ बैशाख २०८१, मंगलबार

प्रदेश–२ मा मतदाता परिचयपत्र भदौ ३०, ३१ र असोज १ मा दिइने


भदौ २८, काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ । स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ–संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ । आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने–‘तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ ।’

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ । प्रदेश नम्बर–२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ । निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर–२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ । मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !