६ बैशाख २०८१, बिहिबार

स्थानीय तहका उम्मेदवारहरुलाई दिइयो निर्वाचन चिह्न


भदौ २५, काठमाडौं । स्थानीय तहको तेस्रो चरणमा आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा उम्मदवारी दिने उम्मेदवारलाई शान्तिपूर्ण र व्यवस्थित ढंगबाट चुनाव चिह्न प्रदान गरिएको छ ।

प्रत्येक जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट शान्तिपूर्ण वातावरणमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको छ भने अन्य दल र स्वतन्त्रले भने आयोगले निर्धारण गरेको चुनाव चिह्न प्राप्त गरेका छन् ।

निर्वाचन कार्यक्रमअनुसार शनिबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यसूची रहेको थियो । निर्वाचन चिह्नप्राप्त गरेसँगै उम्मेदवारलाई प्रचार–प्रसारका लागि मार्गप्रशस्त भएको छ । कतिपय उम्मेदवार निर्वाचन चिह्न पाएलगत्तै घरदैलो र प्रचारप्रसारमा जुटिसकेका छन् ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएसँगै संविधान कार्यान्वयनको एउटा चरण पूरा हुनेछ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सन्चालन केन्द्र (जेइओसी)का अनुसार ३७ हजारभन्दा बढीले स्थानीय तहको विभिन्न पदमा प्रतिस्पर्धा गर्दैछन् । स्थानीय तहमा उम्मेदवारी दर्ता गराएकामध्ये ५९१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कुल ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !