१३ बैशाख २०८१, बिहिबार

गृह र अर्थमा सरुवाका लागि सचिवहरूको दौडधुप शुरु


ministry

काठमाडौं, २८ साउन – नयाँ सरकार गठनसँगै सबैभन्दा आकर्षक मानिने गृह र अर्थ मन्त्रालयमा सरुवाका लागि आकांक्षी सचिवहरूको दौडधुप र हानथाप शुरु भएको छ ।सिंहदरबार उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार अर्थमा पाँच र गृहमा चार सचिवले सरुवाका लागि दौडधुप बढाएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा मन्त्री रहेको अर्थमा सचिवहरू विष्णु लम्साल, टंकमणि शर्मा, शान्ताबहादुर श्रेष्ठ, शान्ताराज सुवेदी र केदारबहादुर अधिकारीले रुचि देखाएका छन् ।स्रोतका अनुसार पाँचैजनाले आ–आफ्नो ‘च्यानल’ मार्फत सरुवाका लागि ‘लबिङ’ शुरु गरिसकेका छन् ।

‘पाँच जनाले रुचि देखाएपनि सचिव विष्णु लम्साल अर्थमा सचिव भएर जाने बलियो सम्भावना छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘श्रम र अर्थ सम्बन्धी विषय बुझेको र अहिलेसम्म कुनै विवादमा नआएकाले उहाँको सम्भावना वलियो छ ।’ सचिव लम्सालका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री महराबीच कुरा भइसकेको स्रोतका दाबी छ ।

यद्यपि अर्थ मन्त्रालयको सचिवमा आंकाक्षी अन्य सचिव पनि अहिलेसम्म विवादमा तानिएका छैनन् ।अर्थसचिवका लागि सबैभन्दा बलियो सम्भावना बोकेको उम्मेदवार ठानिएका लम्साल हाल श्रमसचिव छन् । उनले सचिव हुनुअघि भारतको कोलकातामा महावाणिज्यदूत भएर काम गरेका थिए । त्यसअघि विभिन्न पदीय हैसियतमा अर्थ र श्रम मन्त्रालयमा उनले लामो समय काम गरे ।

अर्थमा रुचि देखाउने अन्य सचिवमध्ये सुवेदी हाल अख्तियारमा छन् । अर्थमै जान चाहेका सचिव शान्तबहादुर श्रेष्ठलाई केही समय अघिमात्र स्वास्थ्य सचिवबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको थियो । अर्थ मन्त्रालयमै लामो समय काम गरेका सचिव टंकमणि शर्मा पनि आर्थिक मामिला बुझ्ने सचिवका रूपमा चिनिन्छन् । लम्सालपछि अर्थसचिवका लागि शर्माको सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।

हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत केदारबहादुर अधिकारीले पनि अर्थ सचिव भएर जान रुचि देखाएका छन् ।अर्थ एवं उपप्रधानमन्त्री महराले हालका अर्थसचिव लोकदर्शन रेग्मीलाई हटाउने तर नयाँ को ल्याउने भन्नेबारेमा छलफल गरौंला भन्ने जवाफ आफूलाई भेट्न आउने र निकटलाई बताउने गरेका छन् ।

स्रोतका अनुसार, गृह मन्त्रालयमा सरुवाका लागि सविचहरू श्रीधर सापकोटा, मोहनकृष्ण सापकोटा, मधु रेग्मी र ङइन्द्रप्रसाद उपाध्यायले रुचि देखाएका छन् ।
‘गृहमा जान चाहनेमध्ये सचिव श्रीधर सापकोटाको सम्भावना बलियो छ,’ स्रोत भन्छ, ‘नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिले पनि श्रीधरकै नाम लिइरहनुभएको छ । उहाँ गृहसचिव हुन लगभग पक्कापक्की जस्तै छ ।’

गृहमा जान खोज्नेमध्ये श्रीधर सापकोटा हाल आपूर्ति मन्त्रालयमा कार्यरत छन् । उनी र अन्य आंकांक्षी हालसम्म विवादमा आएका छैनन् ।
मोहनकृष्ण सापकोटा हाल भूमिसुधार मन्त्रालयमा कार्यरत छन् भने रेग्मी महिला तथा बालबालिका मन्त्रालयमा छन् । त्यस्तै उपाध्याय हाल वाणिज्य मन्त्रालयमा कार्यरत छन् ।

लामो समय ल्हासामा महावाणिज्यदूत भएर काम गरेका सचिव उपाध्याय पनि क्षमतावान् र विवादरहित छवि बनाएका सचिवमा पर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !