७ बैशाख २०८१, शुक्रबार

नेविसंघ अध्यक्षमा गैरविद्यार्थी ‘बूढा’ उम्मेद्वार !


nebi-sangh-neta

२६ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन जारी छ । विद्यार्थीको अध्यक्ष एवं केन्द्रीय नेता बन्नका लागि धेरैले होडबाजी गरिरहेका छन् । तर, रोचक पक्षचाँहि के भने आफूलाई विद्यार्थी दाबी गर्ने अधिकांश नेता पढाइ र उमेर दुबैले ‘फेजआउट’ भइसकेका छन् ।

विद्यार्थी नेतामा दाबी गरिरहेका ‘बूढा’ हरुप्रति व्यंग्य गर्दै गुल्मीका नेविसंघ कार्यकर्ता प्रकाश बस्नेतले फेसबुकमा यस्तो स्टाटस लेखेका छन्- ‘नेपाल अभिभावक संघ (नेविसंघ) महाअधिवेशनमा देश-विदेशबाट पाल्नु हुने सम्पूर्ण प्रतिनिधि, शुभेच्छुकहरुलाई हार्दिक स्वागगत गर्दछु । र, सबै प्रतिनिधिहरुले अलि पाको, उमेर खाको अंकललाई सभापतिमा जिताउन अपील गर्दछु ।’

कसको उमेर कति ?
नेविसंघका नेताहरुबाटै लिइएको जानकारीअनुसार अहिलेका अध्यक्षका प्रत्यासीका रुपमा चर्चामा आएका उम्मेद्ारहरुमध्ये उमेरका हिसाबले सबैभन्दा पाका नेता हुन् जीतजंग बस्नेत । बस्नेत अहिले ४४ वर्षका भइसकेका छन् । करिब १० वर्षअघि नै त्रिभुवन विश्वविद्यालयबाट डिग्री पढेका बस्नेत पूर्वविद्यार्थी हुन् । ललितपुर स्थायी घर भएका उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

अध्यक्षका प्रत्यासीमध्ये उमेरका हिसाबले सबैभन्दा कान्छा हुन, कुन्दनराज काफ्ले । उनी ३६ वर्षका छन् । शैक्षिक योग्यताका हिसाबले काफ्ले स्नातकका विद्यार्थी हुन् । दोलखा स्थायी घर भएका काफ्लेलाई यो महाधिवेशनमा कांग्रेसको तेस्रो धार अर्थात कृष्ण सिटौला, गगन थापा, प्रदीप पौडेललगायतको समर्थन छ ।

अध्यक्षका अर्का प्रत्यासी नैनसिंह महर ४२ वर्षका भए । महर कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुरा निवासी हुन । सभापति देउवाले महर र जीतजंगमध्ये एकलाई नेविसंघको अध्यक्षका रुपमा देख्न चाहेका छन् । महरले केही वर्ष अघि नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट राजनीतिशास्त्रमा डिग्री सकेका छन् । उनले नेपाल ल क्याम्पसबाट एलएलबीसम्मको अध्ययन पनि सकिसकेका छन् । नेविसंघको अध्यक्ष हुन लागिपरेका महराले वर्ष दिन अघिमात्रै बीएडमा भर्ना गरेका थिए ।

त्यसैगरी, रामचन्द्र पौडेल पक्षका उम्मेद्वार रुपमा चर्चामा रहेका अध्यक्षका प्रत्यासी मनोजमणि आचार्य ४२ वर्षका भए । आचार्य केन्द्रीय क्याम्पस कीर्तिपुरमा डिग्रीको परीक्षा दिइरहेका छन् । आचार्यको स्थायी घर रोल्पा हो ।

रामचन्द्र पौडेलकैनिकट रहेका आनन्दराज त्रिपाठीले पनि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । उनी पौडेलकै गृहजिल्ला तनहुँका हुन् । त्रिपाठी पनि ४२ वर्षकै भए । उनले नेपाल ल क्याम्पसबाट एलएलबीसम्मको अध्ययन पूरा गरिसकेका मात्रै छैनन्, अधिवक्ताको लाइसन्स नै लिएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी शुभराम बस्नेत पनि ४२ वर्षका भए । यद्यपि उनी ३०/३५ वर्षको जस्तो युवा देखिन्छन् । बस्नेतले शंकरदेबबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनी पनि पूर्वविद्यार्थी हुन । सोलुखुम्बु स्थायी घर भएका बस्नेत देउवानिकट मानिन्छन् । देउवा समूहमा रहेका बस्नेतलाई खुमबहादुर खड्काको बलियो साथ छ ।

त्यसैगरी, अर्का अध्यक्षका प्रत्यासी नीलकण्ड रिजाल ३७ वर्ष पुगेका छन् । चितवन स्थायी घर भएका रिजाल कोइराला परिवारसँग निकट मानिन्छन् । उनले थापाथली क्याम्पसबाट ओभरसियरसम्मको अध्ययन पूरा गरेका छन् । उनी पनि पूर्वविद्यार्थी हुन् ।

बहसः नीति ठूलो कि नेतृत्व ?
अहिले भइरहेको नेविसंघको महाधिवेशन १० वर्षपछि भएको हो । यसअघि ०६३ जेठमा चितवनमा १०औं अधिवेशन भएको थियो । १० वर्षपछि अधिवेशन भएपछि नेपाली लोकतान्त्रिक विद्यार्थी आन्दोललनको नेतृत्व गरेको नेविसंघले संघीय प्रणालीमा कस्तो शिक्षा प्रणाली हुनुपर्ने, शिक्षामा भएकाको व्यवहारिक कसरी रोक्ने, शिक्षा प्रणालीलाई कसरी गुणस्तरीय र प्रयोगात्मक नाउने भन्ने एजेण्डामा छलफल नै भएको देखिँदैन ।

अधिवेशन प्रतिनिधि, उम्मेद्वार र पार्टीका नेताहरु सबैलाई कसरी आफ्नो पक्षमा नेतृत्व हत्याउने भन्ने मात्रै चिन्ता देखिन्छ । यस्तो प्रवृत्तिले आगामी दिनमा विद्यार्थी आन्दोलनलाई कता लैजाला ? यस्तै प्रवृत्ति हावी हुने हो भने विद्यार्थी संगठनको भविष्य कस्तो होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !