१२ बैशाख २०८१, बुधबार

हिन्दु राष्ट्र नभएपछि झोक पोख्न भारतले नाकाबन्दी गरेको थियो : डा. भट्टराई


baburam

९ वैशाख, काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई हिन्दु राष्ट्र कायम राख्ने भारतको चाहना पुरा नभएपछि त्यसको रिसमा भारतले नाकाबन्दी लगाएको बताएको छ ।

आज अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित अन्तर्वार्तामा बाबुरामले भारतले मधेशीले अधिकार पाउन भनेर नाकाबन्दी नगरेको पनि दावी गरेका छन् ।

भट्टराईले एक प्रश्नको जवाफ दिएका छन्, ‘भारत र चीन नेपालको संघीयताको पक्षमा थिएनन्, अहिले पनि छैनन्। संविधान जारी हुने बेलामा जुन किसिमको विवाद उत्पन्न भयो र भारत नाकाबन्दी लगाउने हदसम्म पुग्यो, त्यो केका लागि थियो भन्ने रहस्यको विषय छ । भारतले नेपाल संघीयतामा जाओस् र मधेसीहरूले अधिकार पाऊन् भनेर नाकाबन्दी गरेको थिएन। भारतको वास्तविक चाहना नेपाल एउटा हिन्दु राज्य रहिरहोस् भन्ने थियो । सीधै भन्न सकेन, भित्रभित्रै भन्यो र त्यो नभएपछि त्यसको झोक पोख्न उसले नाकाबन्दी गर्‍यो ।’

नेपालमा संविधान जारी भएपछि भारतले असन्तुष्टि जनाएको थियो । त्यसलगत्तै उसले अघोषित नाकाबन्दी गरेको थियो । बाबुरामले प्रधानमन्त्री केपी ओलीको हालैको भारत भ्रमणले ओली र भारतीय प्रधानमन्त्री मोदीवीच व्यक्तिगत सम्बन्धमा सुधार आएको बताएका छन् ।

‘भारत भ्रमणका क्रममा उहाँले भारतीय शासकहरूसँग कुनै आन्तरिक समझदारी गरेको पनि हुन सक्छ । उहाँ निकै खुसी भएर फर्कनुभएको छ। तर अन्तर्राष्ट्रिय कूटनीति त्यसरी चल्दैन। आगामी दिन कसरी जान्छ पर्खेर हेर्नुपर्छ ।’ बाबुरामले भनेका छन् ।

यसबाहेक उनले थपेका छन्, ‘भ्रमणले नेपाल भारत सम्बन्धमा होइन, ओलीजी र मोदीजीको सम्बन्धमा सुधार आएको हो । दुई देशबीचको सम्बन्धमा सुधार आइदियो भने त राम्रै हो, तर अहिले दुई समकक्षीको निजी सम्बन्ध सुध्रेको हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु