१२ बैशाख २०८१, बुधबार

मन्त्रीका आकांक्षी धेरै भएपछि माओवादी केन्द्रभित्रै समस्या


maobadi-kendra

९ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेपछि उनले माओवादीसँग मन्त्रीको नाम पठाउन भनेका छन् ।

प्रधानमन्त्रीले मन्त्रीको नाम माओवादी अध्यक्ष प्रचण्डसँग मागे पनि उनले पठाउन सकेका छैनन् । माओवादीमा मन्त्रीका आकांक्षी धेरै हुनु र एउटै मन्त्रालयमा धेरैले आकांक्षा राख्नुले माओवादीलाई मन्त्री छान्न सकस परेको हो ।

माओवादीवाट विगतमा अवसर नपाएकाले मात्रै होइन, पटक पटक अवसर पाएकाले पनि मन्त्रीमा लोभ देखाएका छन् । स्रोतका अनुसार, पटक पटक मन्त्री भएकाले मन्त्रीको चाहना राखे पनि उनीहरुलाई मन्त्री बनाउने पक्षमा माओवादी छैन ।

माओवादीले अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राखेको छ । तथापि, अवसर पाइसकेका केही अनुहार भने मन्त्रीमा कम ब्याक हुँदैछन् । त्यस्तो सौभाग्य वर्षमान पुन र जनार्दन शर्माले पाउँदैछन् । यसअघि मन्त्री भएका तर पार्टी विभाजन गरेर पछि पुरानै घर फर्केका नेताको पनि भाग्योदय हुँदैछ ।

मधेसका सबैभन्दा वरिष्ठ नेता भएकाले मात्रिका यादव मन्त्री बन्ने पक्कापक्की जस्तै छ । यद्यपि, मधेसकै शिवकुमार मण्डल, प्रभु साहललागयतले मन्त्रीमा लालसा नदेखाएका होइनन् । उनीहरुले पनि मन्त्रीको चाहना राखिरहेका छन् । तर माओवादीले उनीहरुलाई यसपटक मन्त्रिपरिषद्मा भन्दा पनि संसद्मै सक्रिय बनाउन चाहेको छ ।

यसअघि रक्षामन्त्री बनेका रामबहादुर थापा बादल पनि पुनः सिंहदरबारमा फर्कंदै छन् । उनले सरकारको नेतृत्व गर्ने विषयमा विवाद नभए पनि सम्हाल्ने मन्त्रालयमा किचलो छ । स्रोतका अनुसार बादलले गृह मन्त्रालय मागेका छन् तर वर्षमान पुन र जनार्दन शर्माले पनि उही मन्त्रालयमा चाहना राखेका छन् ।

गृह मन्त्रालय सञ्चालन गर्न बादल भन्दा आफू योग्य भएको दुवैको दाबी छ । स्वयं प्रचण्ड पनि बादललाई भन्दा वर्षमान र जनार्दनलाई नै गृह बनाउने पक्षमा छन् । तर बादलले मानिरहेका छैनन् । माओवादीका एक नेताले यही कारण मन्त्री छनोटमा समस्या भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु