७ बैशाख २०८१, शुक्रबार

पार्टी एकता गर्न एमाले र माओवादीवीच सातबुँदे सहमति


Agreement सहमति

७ फागुन, काठमाडौं । अन्ततः नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा एमालेको तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख गरिएको छ ।

अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुर्इ दलले बताएका छन् । स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

Agreement Paper

१. एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२. पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३. ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।

४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !