८ बैशाख २०८१, शनिबार

एकतापछि प्रचण्ड नै अध्यक्ष बन्नुपर्छ भन्ने हाम्रो माग हो : बस्नेत


shakti-basnet

५ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एकतापछिको पार्टी अध्यक्ष प्रचण्ड नै हुनुपर्छ भन्ने आफूहरुको भनाई रहेको स्पष्ट पारेका छन् । तर यही विषयले मात्रै पार्टी एकता प्रक्रिया लम्बिएको भन्ने बुझाई गलत भएको उनले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले पार्टी एकताको विषयमा छलफल चलिरहेको बताउँदै प्याकेजमै सहमति गरेर एकता गर्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । एकतालाई सामान्य खेलाँचीको रुपमा लिन नहुने स्पष्ट पारेका छन् । नेता कार्यकर्ताको व्यवस्थापन, संगठन निर्माण, नीति र विचार लगायतका सबै कुरा मिलाएर मात्रै एकता हुने उनको भनाई थियो ।

चुनावी नतिजा र पार्टी एकता प्रक्रियाका आधारमा एमाले अध्यक्ष केपी ओलीलाई आफूहरुले प्रधानमन्त्रीको रुपमा स्विकार गरेको स्पष्ट पार्दै नेता बस्नेतले अन्य नेता कार्यकर्ताको पनि व्यवस्थापन जरुरी हुने बताए । चुनावका लागि बनाइएको वाम गठबन्धनलाई जनताले पार्टी एकता गर्नका लागि अनुमोदन गरेको जिकिर गर्दै बस्नेतले अब प्याकेजमै सहमति गरेर एकता गरिने बताए ।

वैचारिक र राजनीतिक विषयमा छलफल भइरहेको भन्दै उनले भने, “हामीले के भनेका छौँ भने मिलेका विषय मिलिसके, नमिलेका विषयमा छलफल गरेर साझा बिन्दु पहिल्याउने, जसले एकता दिगो बनाओस् ।” एकतालाई भरपर्दो र अग्रगामी बनाउनुपर्ने उनको भनाई छ ।

“एकले अर्कोसँग ट्याक्टिकल हिसाब गर्ने, आ–आफ्नो विषयमा अडान लिएर बस्ने हो भने एकतालाई अग्रगमन बनाउँदैन ।” बस्नेतले भने । “हामी दुईवटापार्टी हौँ । अलग पुष्ठभूमि छ । अलगअलग अस्तित्व भएका पार्टीबिचमा नमिल्ने कुराहरु पनि धेरै छन् । नमिल्ने कुराहरुमा पनि छलफल गर्दै अगाडि बढौँ र एउटा साझा निष्कर्ष र संश्लेषणमा पुगौँ । त्यसको निम्ति आग्रह पूर्वाग्रह छोड्नुपर्छ भन्ने हाम्रो भनाई छ ।”

वैचारिक रुपमा माओवादीले भनेको २१औँ शताब्दीको माओवाद र एमालेले भनेको जनताको बहुदलीय जनवादका विषयमा छलफल गरेर साझा निष्कर्षमा पुग्नुपर्ने उनको भनाई छ ।
माओवादीले भनेकै कुरामा एमालेले सहमति गर्नुपर्छ वा एमालेले भनेको कुरामा माओवादीले मान्नेपर्छ भन्ने तरिकाले जान नहुने बस्नेतको सुझाब छ । एकता प्रक्रियामा कसैको पनि अडानले निष्कर्षमा पुग्न नसकिने बस्नेतको तर्क छ ।-रिपोर्टर्स नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !