११ बैशाख २०८१, मंगलबार

प्रदेश नम्बर २ को प्रदेशमन्त्री चयन गर्न नसक्दा राजपा भित्रै विवाद


rajpa

१ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यमा ककसलाई पठाउने भन्ने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद भएको छ। राजपा नेपालको अध्यक्षमण्डलको सोमबार बिहान ११ बजेदेखि १२ घण्टासम्म र मंगलबार दिउँसो बसेको बैठकमा प्रदेश मन्त्रिपरिषद्‍मा कस्ता सांसदलाई पठाउने भनेर मापदण्ड तयार गर्ने विषयमा नै सहमति जुट्न नसकेको हो।

शंखमूलस्थित एक निजी घरमा भएको बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादवले मन्त्रिपरिषद्‍मा प्रत्यक्ष निर्वाचित सांसदलाई अवसर दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । ठाकुर र रायको प्रस्तावप्रति राजकिशोर यादव र अनिलकुमार झाले आपत्ति जनाएपछि बैठक निष्कर्षमा पुग्न सकेको छैन । समानुपातिक प्रणालीबाट सांसद भएकालाई पार्टीले अवसर दिइसकेकाले प्रत्यक्षबाट निर्वाचितलाई अवसर दिनुपर्ने ठाकुर र रायको प्रस्तावलाई यादव र झाले अश्वीकार गरेका हुन् । अध्यक्षद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी भने मौन बसेका थिए ।

पार्टी एकता हुनुअघि फोरम गणतान्त्रिकको नेतृत्व गरेका यादव र नेपाल सद्भावना पार्टीको नेतृत्व गरेका झा निकटका कसैले पनि प्रत्यक्षमा जित्न नसकेपछि समानुपातिकलाई पनि अवसर दिनुपर्ने अडान उनीहरूले राखेको एक नेताले बताए । प्रदेश २ मा मन्त्रिपरिषद्‍मा ककसलाई पठाउने भन्ने विषयमा अध्यक्षमण्डलको सोमबार र मंगलबार पनि औपचारिक बैठक बसेको अध्यक्ष राजकिशोर यादवले बताए । अध्यक्ष यादवले भने, ‘सम्भव भए मंगलबार अबेरसम्म र सम्भव नभए बुधबारसम्ममा मन्त्रिपरिषद्‍मा सहभागी हुनेको नाम छनोट गरिनेछ।’ गत वर्ष बैशाखमा ६ पार्टी एकीकरण भएर गठित राजापा नेपालका ६ जना अध्यक्षले एक/एक जनालाई अवसर दिन चाहन्छन् तर प्रदेश २ मा राजपालाई फोरमसँग मिलेर सरकार बनाउँदा ४ जनालाई मात्र तत्काल अवसर दिन सक्ने देखिन्छ ।

पद र अवसरका आकांक्षीलाई व्यवस्थापन गर्न शीर्ष नेतालाई हम्मेहम्मे परेको एक नेताले बताए । अध्यक्षमण्डलको सहमतिअनुसार राजापाले अध्यक्ष महतो निकटका सरोज यादवलाई सभामुख दिने सहमतिबमोजिम उनले उम्मेदवारी दिइसकेका छन् । यस प्रदेशमा राजपाले ३ वटा भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भइसकेको छ । ३ मन्त्रीमा अध्यक्ष ठाकुर, राय र भण्डारी आफू निकटका एक/एक जना निर्वाचितलाई मन्त्री बनाउन चाहन्छन् तर अध्यक्ष यादव र झा आफू निकटकालाई मन्त्री बनाउन समानुपातिक र प्रत्यक्ष जुन प्रणालीबाट भए पनि सांसद बनेकामध्येबाट वरिष्ठलाई सरकारमा पठाउन चाहन्छन् ।

प्रदेश २ मा पार्टीको उपाध्यक्ष रहेकी डा. डिम्पल झा र रामनरेश राय मन्त्री बन्ने पक्का हुन्छ। अध्यक्ष झा भने श्रीमती डा. डिम्पललाई मन्त्री बनाउन चाहन्छन् भने अर्का अध्यक्ष राय भने रामनरेशलाई नबनाई रानी शर्मालाई मन्त्री बनाउन चाहन्छन् । त्यसैले राय निर्वाचितलाई सरकारमा पठाउनुपर्ने अडानमा छन् । रानी शर्मा प्रत्यक्षबाट निर्वाचित हुन् भने रामनरेश समानुपातिकबाट प्रदेश सांसद भएका हुन् ।-थाहा खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !