८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्रीको कार्यालय तयार हुँदैछ पोखरामा


pokhara

१० माघ, पोखरा । प्रदेश ४ का सांसदले सपथ लिएलगत्तै प्रादेशिक मन्त्रालय तयार पार्न अस्थायी मुकाम पोखरामा रातदिन काम भइरहेको छ । प्रदेश प्रमुखको कार्यालय, निवास, प्रदेश सभा, प्रदेश सभा सचिवालय, सभामुखको निवास तयार भएपछि अहिले मुख्यमन्त्रीको कार्यालय तयार गर्न द्रुतगतिमा काम भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

निर्माणाधीन सीप विकास केन्द्रलाई मुख्यमन्त्रीको कार्यालय, गृह र अर्थ मन्त्रालय राख्ने गरी तयारी भइरहेको हो । ‘सीप विकास केन्द्रको भवन निर्माणाधीन भएकाले जिल्ला समन्वय समितिमा मुख्यमन्त्रीको कार्यालय राख्ने तयारी थियो,’ प्रजिअ अधिकारीले भने, ‘तर मुख्यमन्त्री निर्वाचित हुँदासम्म सीप विकासकै भवन तयार गर्ने गरी काम भइरहेको छ ।’

अध्यागमन कार्यालयलाई पर्यटन बोर्ड पोखरामा सारेर प्रदेश प्रमुख बाबुराम कुँवरको कार्यालय बनाइएको छ भने क्षेत्रीय प्रशासकको निवासलाई प्रदेश प्रमुखको निवास बनाइएको छ । प्रदेश प्रमुखलाई निवास हस्तान्तरण गरेर क्षेत्रीय प्रशासक राष्ट्र बैंकको अधिकृत गेस्ट हाउसमा पुगेका छन् ।

सभामुखका लागि एयरपोर्टस्थित पोखरा महानगरपालिकाको गेस्ट हाउसलाई एक हप्ताभित्र तयार पारिदिन महानगरपालिकालाई अनुरोध गरेको प्रजिअ अधिकारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !