१२ बैशाख २०८१, बुधबार

पूर्वविद्यार्थी नेताबीच प्रतिष्ठाको लडाईं: कास्की–२


६, मंसिर: पोखरा । कास्की–२ मा यस पटक दुई पूर्व बिद्यार्थी नेताहरु प्रतिष्ठाको लडाईं लड्दैछन् । एमाले उम्मेदवार रविन्द्र अधिकारी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् भने कांग्रेस उम्मेदवार देवराज चालिसे पहिलो पटक सांसद बन्ने रणनीतिमा छन् ।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर अधिकारी धेरैको नजरमा परे । गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनबाट अधिकारीले ख्याति आर्जन गरे ।
पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुने बेलामै धेरैका नजरमा आशालाग्दा नेताका रुपमा परेका थिए, उनी । कास्कीबाट दुई पटक चुनाव पनि जिते । लेखा समितिदेखि विकास समिति सभापतिसम्म आइपुग्दा उनको चर्चा चुलियो ।

बौद्धिक र तार्किक नेताका रुपमा चिनिएका छन्, चालिसे पनि । पृथ्वीनारायण क्याम्पसमै विद्यार्थी राजनीति गरेर चिनिएका नेता चालिसे पटक–पटक स्ववियु सभापतिमा उठे तर अनरास्ववियुको पकड भएकाले जित्न सकेनन् । ०४९ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चालिसे स्ववियु सभापति बने ।

उनका उत्तराधिकारीका रुपमा आइपुगे, अधिकारी । चालिसे कांग्रेस केन्द्रीय प्रशिक्षक भएर देशभर पुगे । टिकट पाउन योग्य तर नपाएका नेताका रुपमा सधैं कांग्रेसभित्र चर्चामा रहे, चालिसे । बलियो उम्मेदवार नभएकै कारण कास्की–२ मा यसअघि कांग्रेसले जीत हासिल गर्न नसकेको कांग्रेसजनकै भनाइ थियो ।

दोस्रो चरणमा हुने निर्वाचनका लागि कास्की–२ मा अधिकारी र चालिसे एकपछि अर्को गर्दै घरदैलोमा पुगिरहेका छन् । त्यसैले पनि उनीहरुबीचको प्रतिस्पर्धालाई नजिकबाट नियालिरहेका छन्, दुवैका शुभेच्छुकहरुले ।
रवीन्द्रले यसपटक जित हात पारे उनको त्यो ह्याट्रिक हुनेछ । चालिसेले जिते पहिलो पटक संसद प्रवेश गर्न पाउने छन् ।
एमालेका बलिया उम्मेदवार अधिकारीलाई हराउन कांग्रेसले बौद्धिक र तगडा उम्मेदवार छानेको छ, चालिसेलाई ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !