७ बैशाख २०८१, शुक्रबार

सुरक्षा चुनौती : पहाडमा विप्लव, तराईमा जातीय राजनीति चुनावी चुनौती


election-security

कार्तिक २७, काठमाडौँ | उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि आइतबार दिउँसो निर्वाचन आयोग र गृह मन्त्रालयमा सुरक्षा रणनीतिबारे छुट्टाछुट्टै छलफल भयो । छलफलपछि आइजिपीलगायतका अधिकारी गृहबाट निस्किएका मात्र के थिए, रोल्पामा माओवादी उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी गोली हानिएको रिपोर्ट आयो । निर्वाचन नजिकिँदै गर्दा चुनावविरोधी समूहको हिंसात्मक घटना बढिरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट आक्रमण भइरहेको सुरक्षाकर्मीको सूचना छ । उनीहरूले माओवादीका नेताहरूलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । चुनावविरोधी समूह वा दल आक्रामक बन्दा सुरक्षाकर्मीहरू भने रक्षात्मक बन्न पुगेका छन् ।
कठोर बन्न निर्देशन

विप्लव नेतृत्वको पार्टीविरुद्ध कठोर बन्न सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । उम्मेदवारमाथि आक्रमण गर्ने तथा आतंकित गराउनेलाई त्यहीअनुसार जवाफी कारबाही गर्न गृहले प्रहरीलाई निर्देशन दिएको छ । बम विस्फोटलगायत हिंसात्मक घटनालाई विप्लव नेतृत्वको नेकपाले बढाउँदै लगेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ । सोही पार्टीको गतिविधिका कारण उम्मेदवारहरूले असुरक्षित महसुस गर्दै प्रहरी र प्रशासनमा गुनासोसमेत गर्न थालेका छन् ।

निर्वाचन आयोगमा आइतबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारमाथि बढेको आक्रमणप्रति चिन्ता व्यक्त गरेका थिए । विप्लव समूहले शुक्रबार विनाविभागीयमन्त्री जनार्दन शर्मालाई लक्षित गरी पश्चिम रुकुममा बम प्रहार गरेको थियो । शनिबार माओवादी केन्द्रका अर्का नेता वर्षमान पुन हिँड्ने सडकमा सामान्य किसिमको एम्बुस राखिएको थियो ।

पहाडमा सुरक्षा बढाउने तयारी

तराईका जिल्लामा धेरै ‘सुरक्षा थ्रेट’ हुने आकलन गरिएको थियो । तर, नेकपाको गतिविधिका कारण गृह मन्त्रालयले पहाडी जिल्लामा सुरक्षाकर्मी बढाउने तयारी गरेको छ । रोल्पा, रुकुम, गोरखालगायत जिल्लामा सुरक्षाकर्मी बढाउन लागिएको गृह स्रोतले जनाएको छ ।

आठै पृतनामा हेलिकोप्टर स्ट्यान्डबाई

सबै पृतनामा सेनाले हेलिकोप्टर स्ट्यान्डबाई राखेको सैनिक प्रवक्ता सहायकरथी दाहालले बताए । निर्वाचनका वेला कतै आकस्मिक रूपमा थप सुरक्षाकर्मी चाहिएमा हेलिकोप्टरमार्फत पठाउने केन्द्रीय सुरक्षा योजना छ । कतिपय स्थानमा मतपेटिका ओसार्नसमेत हेलिकोप्टर प्रयोग गर्ने तयारी छ ।

चुनौती : तराईमा जातीय राजनीति, पहाडमा भौगोलिक विकटता

– पहाडी जिल्लाको भौगोलिक विकटता, विप्लव नेतृत्वको नेकपा र तराईमा जातीय राजनीतिलाई सुरक्षा अधिकारीले आसन्न निर्वाचनको प्रमुख चुनौती ठानेका छन् । सोहीअनुसार सुरक्षा योजनालाई अघि बढाइएको छ । गृहले चार प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ, थप तीन प्रदेशमा गोष्ठीको तयारी छ । गोष्ठीमा सहभागीहरूले अन्तरपार्टी संघर्ष नै निर्वाचनको प्रमुख सुरक्षा चुनौती भएको बताएका छन् । पहाडका विकट क्षेत्रमा रहेका मतदानस्थलमा थोरै मात्र प्रहरी हुने भएकाले झडप भए पनि समयमै थप प्रहरी पुग्न नसक्दा क्षति हुन सक्ने आकलन गरिएको छ ।

– त्यस्तै, तराईमा खुला सिमानाका साथै जातीय राजनीतिलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ । आफ्नो जातको उम्मेदवारलाई मात्र भोट हाल्ने चलन तराईका कतिपय स्थानमा छन् । जसले गर्दा निर्वाचनमा दुई समूहबीच झडप हुन सक्ने विश्लेषण स्थानीय सुरक्षा समितिहरूको छ । आफूहरूले सबै किसिमका चुनौतीलाई विश्लेषण गरेर सुरक्षा तयारी गरिरहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख एआइजी विजयलाल कायस्थले बताए । सीमा सुरक्षालाई बलियो बनाउन भारतीय पक्षसँग छलफल सुरु भइसकेको उनले बताए । साना हतियार नियन्त्रणका लागि पनि प्रहरीले योजना अघि बढाएको छ । तराईमा पनि स्थानीय निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले विस्फोटलगायतका गतिविधि गरेका थिए ।

– तराईमा विखण्डनको नारा लिएर अघि बढेको सिके राउतको समूह भने हालसम्म कुनै चुनावविरोधी गतिविधिमा देखिएको छैन । तर, उनीहरूलाई पनि निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

निर्वाचन सामग्री हेलिकोप्टरबाट ओसारियो

कर्णाली र सबैजसो हिमाली जिल्लामा हेलिकोप्टरबाट मतपत्रलगायत निर्वाचन सामग्री ओसारिएको छ । निर्वाचन आयोगले नेपाली सेना र निजी हेलिकोप्टर भाडामा लिएर मतपत्र ओसारेको हो । पूर्वी जिल्लामा विराटनगरसम्म सुरक्षा निकायको ट्रकमा मतपत्र पु¥याइएको थियो । पश्चिममा सुर्खेतसम्म ट्रकमा लगेर त्यहाँबाट हेलिकोप्टरमा दुर्गम क्षेत्रमा मतपत्र पु¥याइएको छ । कडा सुरक्षाका बीच मतपत्र ओसारिएको छ ।

९० प्रतिशत प्रहरी सुरक्षामा खटिने

निर्वाचनमा प्रहरीको कुल जनशक्तिमध्ये ९० प्रतिशत सुरक्षामा खटिने प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । नेपाल प्रहरीको दरबन्दी ७२ हजार हो । जसमध्ये करिब पाँच हजार रिक्त छ । ६७ हजार प्रहरीमध्ये सात हजार कार्यालय सुरक्षालगायत प्रशासनिक काममा खटिनेछन् । स्थानीय निर्वाचनमा खटिएबराबरको जनशक्ति नै सेनाबाट परिचालित हुँँदै छन् । सेनाबाट ६४ हजार २० जना निर्वाचनमा खटिने सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले बताए ।

सशस्त्र प्रहरी पहिलो चरणको निर्वाचनमा ११ हजार नौ सय तथा दोस्रो चरणमा २७ हजार सात सय खटिँदै छन् । यसमा थोरै संख्या थपघट हुन सक्ने प्रवक्ता डिआइजी बाबुराम पाण्डेले बताए । राष्ट्रिय अनुसन्धानबाट करिब एक हजार पाँच सय सूचना संकलनमा खटिनेछन् । त्यस्तै, निर्वाचनका लागि भर्ना गरिएका ९८ हजार म्यादी प्रहरी कार्यस्थलमा खटिइसकेका छन् ।

पहिलो चरणको निर्वाचनका लागि थप सशस्त्र प्रहरी र नेपाली सेना खटिसकेका छन् । नेपाल प्रहरीले थप जनशक्तिलाई पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा पठाइसकेको छ । संवेदनशील, अति संवेदनशील र सामान्य गरी तीन वर्गमा मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षाकर्मी खटाइने गृहले जनाएको छ ।

गोरखामा मुख्य उम्मेवारलाई अंगरक्षक

जिल्ला सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर सुरक्षा सतर्कता बढाएको छ । गोरखासँग सीमा जोडिएका नाकामा सुरक्षा चेकजाँच तीव्र पार्नुका साथै प्रहरीले ‘रिजर्भ फोर्स’ पनि परिचालन गरेको जनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उम्मेदवारलाई अंगरक्षक पठाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘कांग्रेसका सबै उम्मेदवार र माओवादी केन्द्रका प्रतिनिधिसभा १ (क) का उम्मेदवारले अंगरक्षक माग्नुभएको छ,’ प्रजिअ बस्नेतले भने । कांग्रेसका क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार धीरन थापा, (ख) का उम्मेदवार राजेन्द्र बजगाईं र माओवादी केन्द्रबाट प्रदेश (क) का उम्मेदवार लेखबहादुर थापालाई अंगरक्षक उपलब्ध गराएको प्रजिअले बताए । यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भने गृह मन्त्रालयले नै सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ ।

Source: Naya Patrika


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !