७ बैशाख २०८१, शुक्रबार

शान्ति सुरक्षामा सम्झौता नगरी अगाडि बढ्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन


असोज २७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको शान्ति सुरक्षामा समर्पित हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६२ औं प्रहरी दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शान्ति सुरक्षामा कुनै सम्झौता नगरी अगाडि बढ्न प्रहरी संगठनलाई निर्देशन दिएका हुन् ।

अन्तर्राष्ट्रियस्तरमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले नेपाल प्रहरीलाई समय सापेक्ष बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको बताए । उनले शान्ति सुरक्षामा चुनौती बढ्दै गएको भन्दै सबैखाले चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई राजनीतिबाट मुक्त राख्नुपर्ने भन्दै निर्धक्क भएर जनताको सेवामा लाग्न निर्देशन दिए । उनले नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै आफ्नो कर्तव्य इमान्दारीतापूर्वक पालना गर्न निर्देशन दिए ।

गृहमन्त्री शर्माले जनताको सुरक्षाका लागि टोलटोलमा प्रहरी कार्यक्रमको अवधारणा ल्याएको भन्दै यसलाई प्रभावकारी बनाउन पनि आग्रह गरे । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको जीउधनको सुरक्षा गर्न नेपाल प्रहरी सक्षम रहेको बताए । उनले आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने वातावरण बनाउन प्रहरी संगठन प्रतिबद्ध रहेको बताए । प्रहरी दिवसका अवसरमा यस बर्षको लाईभ एचिभमेन्ट पूर्व प्रहरी प्रमुख कुवेरसिंह रानालाई प्रदान गरिएको थियो भने कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारहरुलाई राहत प्रदान गरिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !