१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको मनमा संघीयताको बारेमा अझै शंका छ : गगन थापा


Sawal bimochan

२४ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा यूवा लेखक नरेश बमद्धारा लिखित पुस्तक ‘सवल’ को आज बिमोचन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ, यो राम्रो होईन, त्यस्तै मोहन विक्रमले यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ, पाँच वर्षपछि उहाँहरुको भनाईले व्यवहारिकता नपाओस् ।’

यद्धपी उनले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने जिकिर गरे । उनले भने,‘संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन्।’

कालिकोट स्थायी घर भएका लेखक बमको उक्त पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता थापाले पुस्तक लेख्नको लागि आँट चाहिने बताए । उनले भने,‘पुस्तक लेख्न आँट चाहिन्छ, म पनि अलि–अलि लेखपढ गर्छु, तर मैले आँट गर्न सकेको छैन्, नरेशजीले यूवा उमेरमै पुस्तक लेख्नुभयो, उहाँ जनप्रतिनिध पनि हुनुहुन्छ, यूवाहरुले राजनीतिक सँगसँगै परोपकारी कार्यहरु जारी राख्नुपर्छ, त्यसो गर्दा राजनीतिक यात्रा अर्थपूर्ण बन्छ ।’

अधिकाशं समय लेखक बमको लागि खर्चेका नेता थापाले पुस्तकमा भएका गल्तिहरुलाई सच्याउँदै आगामी दिनमा सशक्त लेखनमा उत्रिन आग्रह गरे । उनले भने,‘कालिकोटजस्तो दुर्गम जिल्लामा जन्मेर त्यहाँका व्यक्तिहरुले प्रगति गर्नुभएको छ, अब परिचय बदुल्नुपर्छ, संयोगबस आज मेरो जीवनसाथी पनि कालिकोट पुग्नु भएको छ।’

नेता थापाले अघि थपे,‘म कालिकोटकै बारेमा यहाँ बोल्दैछु, उहाँले फोन गरेर भन्नु भएको छ, कालिकोट फरक छ, हो कालिकोट राजधानी भन्दा धेरै पछाडि छ, हिजोका दिनमा राजतन्त्रलाई गालि गरेर बस्यौं, विकास गर्न सकेनौं, पछिल्लो समय अस्थिर सरकार विकासको बाधक मान्यौं, अब त साच्चै पाँच वर्षको लागि स्थिर सरकार आएको छ, विकास नगरीकन अब सुखै छैन् ।’

उनले भने,‘हिजोका दिनमा अरुलाई दोष दिने ठाउँ थियो अब त्यो ठाउँ छैन्, कर्णाली प्रदेशको मुख्यमन्त्री पनि कालिकोटकै व्यक्ति हुनुहुन्छ, विकास सम्भव भएन भने अरुलाई गाली गर्ने स्थिति नै रहँदैन।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अब मुलुकको समृद्धिको लागि युवा नेताहरुले अब पनि पाका नेताहरुको मुख ताक्ने काम गर्न नहुने धारणा राखे ।

उनले भने,‘अब समृद्धि हाँसिल गर्नको लागि युवा नेताहरुले पाका नेताहरुको मुख ताक्ने काम बन्द गर्नुपर्छ, यूवाहरुले नेतृत्व गर्नुपर्छ, गगनजीले पार्टीमा ठूलो प्रयास गर्नुभएको छ, तर सफल हुनुभएको छैन् नेतृत्व हातमा लिएर अघि बढ्नको लागि निरन्तर लाग्नुपर्छ।’

उनले अघि थपे,‘जनताका भावना र आवश्यकताको आधारमा नेताहरुले देश चलाउनुपर्छ, त्यसो भयो भने मात्रै नरेश बमले कल्पना गरेको सवल नेपाल सम्भव हुन्छ ।’ देशभर नरेश बमजस्तै सिर्जनशील र दक्ष यूवाहरुको जमात निर्माण हुनुपर्ने धमलाको भनाई थियो ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटका सभापति हर्ष बहादुर बमले कालिकोट कांग्रेस र व्यक्तिगत तर्फबाट लेखक शाहीलाई बधाई तथा शुभकामना दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कालिकोटका अध्यक्ष नगेन्द्र शाही ‘नेशनल’ले कालिकोटको परिचय बदल्नको लागि यूवाहरु अग्रसर हुनुपर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !