७ बैशाख २०८१, शुक्रबार

सीमा जोडिएका १३ नाका खोल्न चीनसँग प्रस्ताव


असोज ३, काठमाडौं । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।

नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उनले जानकारी गराए ।  विसं २०५१ मा भएको दुई देशबीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल सोमबार नेपाल आउने मन्त्रालयले जनाएको छ । यससम्बन्धी वार्ता गतवर्ष चीनको ल्हासामा भएको थियो । आगामी बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलांगचुंगोेला नाका खोल्ने सम्झौता भइसकेको छ ।

मन्त्री बलायरले सोमबार रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलांगचुंगोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको राससलाई जानकारी दिए । चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ,’ आज नेपालका लागि चिनियाँ राजदूत यु हंगसँग भएको वार्तामा उनले आफू सहमत भएको बताउँदै प्रतिनिधिमण्डलसँग समन्वयका लागि कुरा राख्ने बताए । तातोपानी नाका खोल्न पनि चिनियाँ सरकार गम्भीर रहेको राजदूत हंगले जानकारी गराउनुभएको छ’, उनले भने ।

भेटका क्रममा तातोपानी नाका बन्द हुँदा चीनसँग आयात निर्यातमा समस्या भएकाले नाका छिटो खोल्न मन्त्री बलायरले अनुरोध गरेका थिए । यो विषयमा पनि बुधबारको वार्तामा सम्झौता गरिने मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमन्डलको नेतृत्व मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव ध्रुवराज जोशीले गर्नेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !