७ बैशाख २०८१, शुक्रबार

परराष्ट्रमन्त्री स्वदेश फिर्ता


Pardip_kumar Gyawali

३१ जेठ, काठमाडौँ  ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्कनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

समझदारीपत्रमा आफू र आफ्ना मंगोलियाली समकक्षी दामदिन सोटाबाटरले हस्ताक्षर गरेको जानकारी दिँदै उहाँले मंगोलियाका राष्ट्रपतिसँग शिष्टाचार भेट गरेको बताउनुभयो ।

गत मंगलबार सम्पन्न थिंक ट्यांकको सम्मेलनले भूपरिवेष्टित विकासशील मुलुकहरुमा प्रत्यक्ष वैदेशिक लगानी तथा आर्थिक विविधीकरण, सूचना तथा सञ्चार प्रविधिसहितको सम्पर्क विस्तार, पूर्वाधार निर्माण, पारवहन यातायात मार्ग र व्यापार सहजीकरणलाई जोड दिएको मन्त्री ज्ञवालीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !