८ बैशाख २०८१, शनिबार

धौलागिरि आधार शिविरको फोहर व्यवस्थापन


Nepalpatra

८ जेठ, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका बासिन्दाले संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरमा थुप्रिएको १५ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् ।

आठ हजार १६७ मिटर अग्लो सो हिमालको आधार शिविर आसापास आरोही, पदयात्री, पर्यटक मजदूर, भरिया र तिनका सहयोगीले फालेका सामान एकत्रित गरेर उनीहरूले सफाइ गरेका हुन् । आधार शिविरमा थुप्रिएका १० मेट्रिक टन नकुहिने र पाँच मेट्रिक टन कुहिने खालका फोहर इटली आधार शिविर ल्याएर व्यवस्थापन गरिएको फोहर व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिनुभयो ।

गाउँपालिकाको रु आठ लाख अनुदान सहयोग र स्थानीय बासिन्दाको रु एक लाख २०० बराबरको श्रमदानमा फोहर व्यवस्थापनका लागि एक महिनासम्म ३० जना मजदूर परिचालन गरिएको उहाँले बताउनुभयो ।

कपडा, ग्यास सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुँडा आधार शिविरमा यत्रतत्र छरिएका थिए । तयारी खाना र खाजा पोको पारेर लगिएका बट्टा, प्लाष्टिकका प्याकेट, सामान बोक्ने डोका, कपडा, खादाजस्ता फोहरले आधार शिविरलाई कुरुप बनाएको थियो ।

हेलिकप्टरमार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका सामानको व्यवस्थापन नहुँदा फोहर र प्रदूषण बढेपछि स्थानीय समुदायको पहलमा सरसफाइ गरिएको हो । आरोहण समूह र पदयात्रीले भरिया र खच्चडमार्फत आधार शिविरसम्म सामान पु¥याए पनि त्यही छाडेर फर्कने गरेका थिए ।

नजिकैको बस्ती बगर गाउँदेखि पाँच दिनको पैदलयात्रापछि पुगिने आधार शिविरमा पु¥याइएको सामान प्रयोगपछि फिर्ता गर्न ढुवानी खर्च बढी लाग्ने भएकाले आरोहीहरूले त्यही छाडेर फर्कने गरेका हुन् । हिमालका आधार शिविरमा जाने पदयात्री र आरोहीले त्यहाँ लैजाने फोहरजन्य सामान सुरक्षित ठाउँमा व्यवस्थापन गर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

पर्यटन मन्त्रालय र समुदायसँग समन्वय गरेर हिमालमा फोहर गर्न नपाउने नीतिगत व्यवस्था कार्यान्वयनमा कडाइ गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । धौलागिरि चक्रीय पदमार्गमा समेटिएका मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकासँग समन्वय गरेर चेकपोष्ट स्थापना गर्न पहल गरिएको अध्यक्ष पुनले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !