नेपाली भाषा बुझ्ने हात्ती !

६ जेठ,  चितवन । हात्तीसारका माहुत विनोद चौधरीले त्रित… सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे प¥यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो । यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ ।

ओई ! लक्ष्मण यता आइज । पर भएको लक्ष्मण खुरुखुरु आयो । अडी ! टक्क अडियो । पछाडि जा ! पछाडी फर्कियो । जा.. माला लगाई दे भन्दा माला टपक्क टिपेर मान्छेको गलामा पहि¥याइदिन पुग्छ । टाउकोमा सुँड राखेर आशिर्वाद दिन्छ ।

हात्तीले माला पहि¥याइदिएको नौलो मानेका भरतपुरका दिदीभाइ आरती र विजय सापकोटा त्यो देखेर औधी रमाए । उनीहरुले पनि हात्तीबाट माला पहिरिएर आशिर्वाद लिए । “नौलो अनि रमाइलो लाग्यो,” आरतीले भन्नुभयो ।

चितवनको सौराहास्थित राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको १० वर्षको लक्ष्मणगज हात्ती अहिले आफैं माला लगाइदिन्छ । मानिसलाई आशिर्वाद दिन्छ । टाउको निहु¥याएर ढोग्छ । अनि, पछाडि र अगाडिको खुट्टा उठाएर दुई खुट्टामा उभिन्छ । बडेमानको ज्यान अड्याएर सानो काठको बेन्चमा उभिन्छ । कुनै एउटा वस्तुको गन्ध सँुधाएर त्यसलाई थाहा नपाउने गरी अन्तै राखिदियो भने गन्ध सुँघ्दै खोजेर ल्याउँछ पनि । यसरी नमूना कला प्रदर्शन गर्दै आएको छ लक्ष्मण ।

“चारवटा खुट्टा भएको जनावर दुई खुट्टामा बस्न सक्छ कि सक्तैन भनेर हेरियो त्यो पनि सक्यो,” माहुत चौधरीले भन्नुभयो ।

दायाँबायाँ जा भन्दा जाने, बस भन्दा बस्ने । उभी भन्दा उभिने गर्छ । “यसले नेपाली भाषा चाहीँ प्रष्ट बुझ्छ,” चौधरीले थप्नुभयो – “यहाँको थारु भाषा पनि बुझ्छ ।”

उहाँका अनुसार यसरी नेपाली भाषा बुझ्ने हात्ती नेपाल मै पहिलो हो । सामान्यतः नेपालमा पालिएका अन्य हात्ती यस्तो गर्दैन ।

यसरी अतिरिक्त कला देखाउने हात्ती पनि नेपालमा पहिलो हो । “फरक कला देखाएको छ लक्ष्मणले,” निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक भन्नुहुन्छ ।

अघिल्लो वर्ष थाइल्याण्डको सर्कसमा पुग्दा हात्तीले विविध कला देखाएको देखिएको थियो । डोरीमा टेकेर हात्ती हिँडेको दृश्य रोमाञ्चक थियो । क्याटवाक पनि राम्रै गरेको थियो । तर त्यति धेरै कला नजाने पनि सौराहाका लक्ष्मणले देखाएको कला आफैंमा नेपालका लागि नौलो छ । सिकाए हात्तीले गर्न सक्छ भन्ने उदाहरण लक्ष्मण हो भन्नुहुन्छ हात्तीका एकजना माहुत कमल परियार ।

अरु हात्तीले गर्ने सबै क्रियाकलाप लक्ष्मणले गर्छ । त्यसबाहेक थप प्रतिभा पनि छ लक्ष्मणसँग । सिमिमिती हात्ती सिमेन्टको सानो डिलमा हिँड्दैन । जान डराउँछ । तर यो हात्ती त्यस्ता डिलमा सजिलै हिँड्छ । निकुञ्जको काठे पुलको छेउमा हिँड्न सबै डराउँछ । त्यसैले यसलाई डिल हिँड्न सिकाइएको हो । अगाडि पछाडि पनि हिँड्न सक्छ । सजिलै पछाडि पनि जान्छ ।

देवीकलीले २०६५ साल कात्तिक १ गते राम र लक्ष्मण जुम्ल्याहा पाएकी थिइन् । आमासँगै राम चाहीँ निकुञ्जको मुख्य कार्यालय कसरामा छ । लक्ष्मण भने सौराहाको हात्तीसारमा छ । एकपटक सिकिस्त बिरामी परेको थियो लक्ष्मण । म¥यो भनेर बाँचेकाले आरामका लागि यसलाई सौराहा ल्याइएको थियो ।

अहिले सौराहामा कला देखाउन थाले पनि हेर्ने पर्यटकको भीड नै हुन्छ । पर्यटकहरु सेल्फी लिन्छन् । तस्वीर लिनेदेखि प्रदर्शन गरेको कलाको भिडियो खिचेर रमाउँछन् ।

“भाले हात्ती हो, पछिसम्म यस्तै गरिरहन्छ या गर्दैन भन्न सकिन्न, हेरौं टिनएज लागेपछि के गर्छ,” विनोदले शंका व्यक्त गर्नुभयो । प्रायः भाले हात्ती जतिसुकै ज्ञानी भएपनि मात चढ्दा पारा देखाइहाल्छ भन्ने उनको अनुभव छ ।

हात्तीलाई सिकाउन अगाडि पहिले माहुत आफैंले सिक्नुपर्छ । आज एउटा सिकाउने अनि भोलि अर्काे गर्न लगाउँदा जान्दैन । आज सिकाएको शैलीमा भोलि गर्न लगाउँदा सजिलै गर्छ । ऊसँग कुर्सीमा चारवटै खुट्टा राखेर चढ्न र अडिन सक्ने क्षमता छ ।

पहिले पिटाइ दिएर हात्तीलाई सिकाइन्थ्यो । विदेशी वन्यजन्तु विज्ञ आएर पिटाइ भन्दा मिठाइले धेरै कुरा सिक्छ भनेर चितवन निकुञ्जमा जन्मिएका धेरै हात्तीलाई सिकाइयो ।

मिठाइबाट सिकाएको हात्तीले सजिलै सिक्यो पनि । त्यही देखेर विनोद चौधरीले हात्तीले के सम्म गर्न सक्छ भनेर आफ्नै सुरमा सिकाउन थालेका थिए । भनेको मान्दा केरालगायत विभिन्न खानेकुरा दिइन्छ । त्यसरी सिकाउँदै नभन्दै धेरै कुरा गर्न सक्ने भएको छ लक्ष्मण ।

हात्तीले विनोदको सिटीको स्वरसमेत चिन्छ । सिटीकै इसारामा समेत काम गर्छ । नेपाली भाषामा भनेका कुरा पनि मान्छ । अनि थारु भाषामा भनेका कुरा पनि गर्छ । नेपालमा यतिको कला भएको हात्ती छैन ।

‘आफू कन्फ्यूज भयो भने हात्ती नै कन्फ्यूज हुन्छ, आफू पोख्त हुनुपर्छ, हात्तीपनि पोख्त हुन्छ, जे होस् यिनीहरुको मन मस्तिष्कमा चाहीँ बस्दो र’ैछ,” विनोदले अनुभव सुनाउनुभयो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्नुहुन्छ, “कर्मचारीहरुले आन्तरिक रुपमा के सम्म गर्दाे रहेछ भनेर सिकाएका रहेछन्, माला लगाउने, आर्शिवाद दिने गरिरहेको छ ।”(रासस)

माया लाग्छ निष्ठुरीको