७ बैशाख २०८१, शुक्रबार

ऊर्जामन्त्री पुन र सिचुवान प्रान्तका उपगभर्नरबीच भेटवार्ता सम्पन्न


Nepalpatra

३ जेठ, काठमाण्डौ ।  ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेको भन्दै त्यसका लागि नेपालमा चिनियाँ लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाइदिन आग्रहसमेत गर्नुभयो ।

मन्त्री पुनले चीनसँग नेपालले गत वर्ष नै ‘एक पेटी एक मार्ग’ मा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पुनले आगामी दिनमा जलविद्युत् र सौर्य ऊर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको बताउनुभयो ।

भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त ऊर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।

“हामी ऊर्जा र जलविद्युत्का साथै निर्माण र पुनःनिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौँ, त्यसका लागि सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसँग सहकार्य शुरु गरेको छ”, उपगभर्नर युसिङले भन्नुभयो ।

उहाँले सिचुवानमा व्यापार र अध्ययनका लागि थुप्रै नेपाली रहेको भन्दै सिचुवानमा वाणिज्य दूतावास खोलिदिनसमेत आग्रह गर्नुभयो । जवाफमा मन्त्री पुनले सिचुवानसँग व्यापार र शिक्षाका साथै हवाई सम्पर्क जोड्ने प्रयास भइरहेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपालका लागि चीनका राजदूत यू होङको उपस्थिति थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !