४ बैशाख २०८१, मंगलबार

लिफ्ट खानेपानी आयोजना मन्त्री मगरद्वारा उद्घाटन


८ वैशाख, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना शनिबार खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा उद्घाटन गरे।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र बिजुली नपुग्ने तथा पानीको स्रोतहरुलाई केन्द्रित गरी काम गर्न नसकेको ठाउँमा कठिनाइ व्यहोर्दै आएका बस्तीमा खानेपानी सेवा पुर्याउन गरिएको काम सराहनीय रहेको बताइन्। उनले सरकारको लक्ष्य समृद्ध नेपाल भए पनि खानेपानीको अभावमा रहेका ग्रामीण बस्तीमा खानेपानी पुर्याउनु निकै चुनौतीपूर्ण रहेको समेत बताइन्।

कार्यक्रममा उनले बजारीकरण र सहरीकरण उन्मुख क्षेत्रहरुमा स्वच्छ खानेपानी, ढल निर्माण र सरसफाइको कामलाई योजनाबद्ध रुपमा विकास गर्ने योजनामा मन्त्रालय अगाडि बढिरहेको उल्लेख गरिन्।

विशेषगरी हिमाली र पहाडी भेगका महिलाले संघर्षपूर्ण जीवन व्यतीत गरिरहनु परेको उल्लेख गर्दै पहाडी भेगमा पनि ट्युबवेल सञ्चालन गर्न सकिने क्षेत्रहरु खोजिरहेको र केही ठाउँमा डिप ट्युबवेल सञ्चालन गरी खानेपानी असहजतालाई पूर्ति गर्न मन्त्रालय लागिपरेको उनले बताइन्। त्यसमा पनि अझ प्रभावकारी लिफ्ट प्रविधिको खानेपानी रहेकाले त्यसलाई व्यवस्थित गर्न खोजिराखेको उनले बताइन्।

अस्थिर सरकारका कारण गाउँबस्तीले असहजता भोगिरहनुपरेका अवस्थामा अहिले स्थिर सरकार निर्माण भइसकेको उल्लेख गर्दै उनले गाउँघरमा पानीको अभाव रहेको भएपनि त्यसलाई पूर्ति गर्न भएका पानीेको स्रोतलाई परिचालन गरी राज्यको महत्वपूर्ण आर्थिक स्रोतका रुपमा प्रयोग गर्न सकिने उल्लेख गरिन्। पानीलाई प्रयोग गरेर उद्योग र कलकारखाना सञ्चालन गर्न सकिने, जसले समृद्ध नेपाल निर्माण गर्नमा सहयोग पुग्ने उनको भनाइ छ ।

उनले मोबाइलको प्रयोग गरेर सन्देशको भरमा पानी सञ्चालन हुने र बन्द हुने प्रविधि प्रयोग गरेर गरिएको काम उदाहरणीय भएको बताइन्। सरकारले खोजिराखेको विश्वमा उपयोगमा आइरहेको प्रविधिलाई व्यवहारत प्रयोग गर्ने उपभोक्ता समिति सबैको उदाहरण बनेको उनले बताइन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश बनाउने संकल्प लिएकाले अबको सरकारले त्यसलाई पूर्णता दिने बताए। देशले प्रगति गर्नको निम्ति संकल्प गर्नुपर्ने उल्लेख गर्दै बाँस्कोटाले अब संकल्पलाई पूरा गरेर छाड्ने बताए।

उहाँले अब अभावको जिन्दगी नचल्नेसमेत बताए। ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको सहकार्यबाट निर्माण कार्य सम्पन्न भएको उक्त आयोजना नयाँ प्रविधिमा जिएसएम कन्ट्रोल प्यानल जडान भएको छ ।

एक्वाटेक प्रालिका कार्यकारी निर्देशक बजरङ्ग जैनले मोबाइल एप्सको प्रयोग गरी पानी खोल्न र बन्द गर्न सकिने भएकाले समयको बचत हुने बताए। उनका अनुसार देशका जुनसुकै कुनामा पुगे पनि पानी खोल्न र बन्द गर्न सो मोबाइलमा भएको एप्सको प्रयोगबाट पानी खोल्न र बन्द गर्न सकिने भएकाले राति, बाढी पहिरो र टाढा भनेर बस्नु पर्दैन ।

खानेपानीको निकै अभाव झेल्दै आएका त्यहाँका स्थानीय बासिन्दाका लागि खानेपानी उपभोग गर्न गाउँदेखि तल रहेको खोल्साबाट लिफ्टिङ पद्धतिबाट खानेपानी आयोजना सम्पन्न गरिएको हो । उक्त खानेपानी आयोजना त्यहाँका स्थानीय उपभोक्ताको नगद एवं श्रमदानबाट गरी ८४ घरधुरीका ३२२ जना उपभोक्ताका लागि कूल ४२ लाख ५२ हजार ५८७ लागतमा सम्पन्न भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !