१३ बैशाख २०८१, बिहिबार

यी हुन् स्वदेशमै सानो लगानीमा स्वरोजगार बन्न सकिने ६ व्यवसाय


Self Employed

स्वरोजगार हुनु नेपाली युवाको लागि अति आवश्यक छ । अहिलेको वर्तमान अवस्थामा नेपालमा अन्य रोजगारको अवसर प्रयाप्त नभएको बेला आफैले केहि लगानी गरेर स्वरोजगार हुन सकेको खण्डमा आर्थिक विकास गर्न सकिन्छ । विदेश नै जानुपर्छ भन्ने मान्यतालाई चिर्न र यही राम्रो आम्दानी गर्न सकिने केहि व्यवसायहरू यस प्रकार छन्ः

१. कुखुरापालन  

सानो लगानीवाट सुरु गर्न सकिने व्यवसाय हो कुखुरापालन । सानो जमिन र थोरै पैसावाट नै यो व्यवसाय गर्न सकिन्छ । यो व्यवसायवाट ३ देखि ६ महिनाको छोटो अवधिमा नै प्रतिफलसमेत प्राप्त गर्न सकिन्छ । यसका लागि धेरै मिहिनेत पनि आवश्यक छैन । उचित दानापानी र सरसफाइमा विशेष ध्यान दिनसकेको खण्डमा कुखुरापालनवाट मनग्गे आम्दानी गर्न सकिन्छ ।

२. जीमखाना

शहरीया मानिसको जीवनशैली ग्रामीण क्षेत्रका मानिसको भन्दा फरक प्रकृतिको छ । शहरका कम मानिसले मात्र कठोर शारीरिक परिश्रम गर्छन् । तर शहरका मानिस जिमखाना जाने संस्कृति भने तीव्र रुपमा विकास हुन थालेको छ । जिमखाना स्थापनाका लागि ३ लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ । यदि तपाईले आफ्नै घरको एक कोठामा उक्त लगानी गरी जिमखाना व्यवसाय शूरु गर्नुभयो भने तत्कालै प्रतिफल प्राप्त हुन थालिहाल्छ ।

३. च्याउ खेती 

यदि तपाईको घरमा एउटा कोठा खाली गर्न सक्नुहुन्छ भने तपाईले च्याउ खेती घरमा नै शूरु गर्न सक्नुहुन्छ । तर यस्तो कोठामा सूर्यको किरण कम आउने व्यवस्थाका साथै आफू बस्ने कोठादेखि केही टाढा पनि हुन जरुरी छ । पछिल्लो समय शहरी क्षेत्रका युवा पुस्ता च्याउखेती तर्फ आकर्षित हुन थालका छन् । २ देखि ३ महिनाको अवधिमा च्याउखेतीबाट पैसा कमाउन सकिन्छ । समय, स्थान र मेहनत कम लाग्ने च्याउबाट सजिलै आम्दानी गर्न सकिन्छ ।

४. डे केयर सेन्टर

शहरी क्षेत्रमा युवा पुस्ताको जनसंख्या अधिक हुने गर्छ । उनीहरु काममा जाने प्रवृत्ति पनि हुन्छ । तसर्थ शहरका युवाले आफ्ना बालबच्चालाई स्याहार गर्नका लागि पर्याप्त समय छुट्याउन सक्दैनन् । तसर्थ उनीहरुका बालबच्चाको स्याहार सुसार गर्ने व्यवसाय गर्ने हो भने लगानी कम हुनका साथै आम्दानी पनि राम्रै गर्न सकिन्छ । डे केयर सेन्टरमा प्रति बालबालिका २ हजार देखि २५ सय सम्म रुपैयाँ खर्च गर्न जुनसुकै अभिभावक पनि तयार हुन्छन् ।

५. सिर्जनात्मक कार्य  

मासिनका विभिन्न प्रकारका सोख हुन्छन् । आफ्ना सोख पुरा गर्न मानिस धेरै रकम खर्च गर्न पनि पछि पर्दैन । पेन्टीङ गर्ने, गितार बजाउने जस्ता सीप सिकाउने र यस्ता विषय सिकाउने काम पनि घरमै बसीबसी गर्न सकिन्छ । सीप महत्वपूर्ण हुने यी व्यवसायमा ठूलो लगानी नगरी सजिलै आम्दानी गर्न सकिन्छ । यसका लागि प्रतिव्यक्ति मासिक १५ देखि माथि शूल्क लिन सकिन्छ ।

६. ब्लग 

घरमै बसीबसी आम्दानी गर्ने अर्को सजिलो तरिका हो ब्लग लेख्ने काम । कुनै पनि विषयमा ब्लग लेख्न सक्ने मानिसका लागि पाठकको कमी छैन । ब्लग लेखेरै पनि धेरै मानिसले राम्रो आम्दानी गर्न सफल भएका छन् । ब्लग लेख्नका लागि अतिरिक्त कुनै पनि खर्च लाग्दैन । गुगल वा बर्डप्रेशमा गएर सीधै ब्लग लेख्न सकिन्छ । ब्लग पाठकको संख्या बढी भयो भने विज्ञापन पनि राख्न सकिन्छ । भारतमा धेरै ब्लगरले मासिक डेढलाख सम्म आम्दानी गर्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !