७ बैशाख २०८१, शुक्रबार

बजारमा दिनहुँ उछाल, ६ महिनापछि सेयर कारोबार एकैदिन अर्ब नाघ्यो


Bullish trend share-market

५ वैशाख, काठमाण्डौ । आज बुधबार सबै समूहमा हरियाली छाएको बजारमा नेप्से सूचक ३१.८३ अंकले बढेर १३६३.०१ अंकमा पुगेको छ । नयाँ बर्ष लागेदेखि नै निरन्तर उकालो लागेको सेयरबजारमा बुधबार एक अर्ब बढीको सेयर किनबेच भएको छ । बुधबार सेयरबजारमा पछिल्लो ५ महिना यताकै उच्च कारोबार भएको हो ।

बजारमा कारोबार रकम(टर्नओभर) र परिसूचक(इण्डेक्स) समानान्तर ढंगले बढ्दै जाँदा भविष्यमा अझ ठूलो उछाल आउनसक्ने विश्लेषण गरिन्छ । यो साताको पहिलो दिनको कारोबारदेखि बुधबारसम्मको प्रवृति हेर्ने हो भने बजारमा जुनसुकै  बेला बुलिस प्रवृति सुरु हुनसक्ने देखिएको छ ।

यो दिन क वर्गका कम्पनीहरुका उच्च खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ६.२७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.६३ अंकको बढोत्तरी देखिएको छ ।

यो दिन जलविद्युत समूहको सूचक ७ प्रतिशत( १०७.७३ अंक)को हाराहारीमा बढेको छ । अन्तिम समयमा एकाएक बढेको बैकिंग समूहको सूचकमा पनि करिब ३ प्रतिशत(३२.८९ अंक)को उछाल देखिएको छ ।

विकास बैंक समूह ४.२३ प्रतिशत(६५.३४ अंक),  माइक्रोफाइनान्स समूह ५.३९ अंक, होटल समूह ३७.६५ अंक, बित्त समूह १३.६९ अंकले बढेका छन् । यस्तै, व्यापार समूह४.३९ अंक, बिमा समूह ६३.५१ अंक, उत्पादनमूलक २८.३५ अंक र अन्य समूह ७.८१ अंकले बढेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी
हराभरा भएको बजारमा धेरै समयपछि कारोबार रकम १ अर्ब माथि पुगेको छ । यो दिन बजारमा १ सय ६५ कम्पनीका २४ लाख ४० हजार १ सय ५ कित्ता सेयर १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन यूनाइटेड इन्स्योरेन्सले ६ करोडको हाराहारीमा कारोबार गरेको छ । यस्तै, चिलिमे हाइडोपावर कम्पनीले ३ करोड १५ लाख, सानिमा बैंकले २ करोड ७४ लाख, सूर्या लाइफ इन्स्योरेन्सले २ करोड ७१ लाख, सिनर्जी हाइडोपावरले २ करोड ५७ लाख, कुमारी बैंकले २ करोड ४८ लाख, नेपाल इन्स्योरेन्सले २ करोड ४७ लाख, नवील बैंकले २ करोड २४ लाख बढीको कारोबार गर्यो । यो दिन नवील बैंककै २ करोड २२ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । नेको इन्स्योरेन्सले समेत यो दिन २ करोड २१ लाख बढीको कारोबार गर्यो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ११ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । यो दिन ङादी ग्रुप पावर लिमीटेड, हिमालयन पावर पार्टनर लिमीटेड र नयाँ नेपाल लघुवित्त विकास बैंकका सेयरधनी मालामाल भए । यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यसैगरी, राष्टिय बिमा कम्पनी लिमीटेडको संस्थापक सेयरधनीले समेत १० प्रतिशतकै हाराहारीमा सम्पत्ति बढाए । सूर्या लाइफ इन्स्योरेन्स, साइन  रेसुंगा डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त बित्तीय संस्था, हाथ्वे फाइनान्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड र रादी जलविद्युत कम्पनीका लगानीकर्ताले समेत कुस्त कमाए । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा  वृद्धि भयो ।

यो दिन एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.२६ प्रतिशतले घट्यो । प्रूडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले समेत ४ प्रतिशतको  हाराहारीमा गुमाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !