१३ बैशाख २०८१, बिहिबार

वलेवा विमानस्थलमा नियमित हवाई सेवा सुरु


९ चैत, बाग्लुङ । २६ वर्षदेखि बन्द रहेको बाग्लुङको वलेवा विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई सेवा सुरु भएको छ ।

२०४८ सालमा पोखरा–बागलुङ राजमार्ग खुलेसँगै बन्द भएको विमानस्थल सञ्चालन भएपछि धौलागिरीका स्थानीयमा खुशी छाएको छ ।

बागलुङ नगरपालिकाले आर्थिक जोखिमसमेत बहन गर्ने गरी हवाई कम्पनीहरुसँग सम्झौता गरेपछि शुक्रबारदेखि बागलुङ—काडमाडौं नियमित हवाई सेवा सञ्चालनमा आएको थियो ।

तारा एयरको नाईन एन एईटी जहाजमा १५ जना यात्रुसहित चालक दलका तीन सदस्य शुक्रबार दिउँसो बलेवा एयरपोर्ट अवतरण भएका थिए । विमानमा क्याप्टेन सञ्जीव श्रेष्ठले उडान र अवतरणका लागि कुनै समस्या नभएको बताउनुभयो । काठमाडौंबाट उडान भरेको ३८ मिनेटमा बलेवा अवतरण गरेको उहाँले बताउनुभयो ।

एयर ट्राफिक कन्ट्रोलर नागरिक उड्यन कार्यालय पोखराका प्रवन्धक इमानाथ अधिकारीले नगरपालिकाको पहलमा उडानका लागि सामान्य उपकरण उपलब्ध भएको जानकारी दिनुभयो । एयरलाइन्स कम्पनीले सुरुवातमै ६ हजार ७ सय भाडा उल्लेख गरेपछि स्थानीयले भाडा समायोजन गर्न माग गरेका छन् । बाग्लुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले हवाई भाडा केही महङ्गो भएको गुनासो आएकाले यसलाई घटाउने बारेमा छलफल भैरहेको बताउनुभयो ।

नियमित हवाई सेवा सञ्चालन भएपछि हरेक आइतबार तारा एयर र विहीबार नेपाल वायु सेवा निगमले उडान भर्नेछन् । अहिले सञ्चालनमा आएको विमानस्थललाई नियमित सञ्चालनका लागि आवश्यक पर्ने अन्य संरचना तथा सडकको विकास गरिने बाग्लुङ नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । जिल्लाको आर्थिक विकासका लागि नगरपालिकाले आर्थिक जोखिम मोलेरै विमानस्थल सञ्चालन गर्ने अग्रसरता लिएको उहाँको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !